नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै राजनीति प्रस्ताव लैजाने भएको छन्।
एमाले अध्यक्ष ओलीले आफ्नो एकलौटी प्रस्ताव लैजाने बताइरहेका बेला पोखरेलले ११ औँ महाधिवेशनमा फरक मतसहित विभिन्न प्रस्तावहरू लैजाने भएका हुन्। सो प्रस्ताव लैजाने विषयमा छलफलका लागि प्रस्तुत गर्न माग गर्दै आज दिउसो २ बजे पोखरेलसहितका नेताहरू ओली निवास गुण्डु जाने भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने ११ औँ महाधिवेशनमा आफू बोल्ने र थप छलफल नहुने अभिव्यक्ति दिएका बेला पोखरेलले छुट्टै दस्ताबेज पेस गर्न लागेका हुन्। ‘हामीले राजनीति प्रस्ताव लैजानेछौँ, प्रतिनिधिहरूलाई बाँड्नेछौँ, त्यसका लागि अध्यक्ष कमरेडसँग माग गर्नेछौ, लिखित रूपमै माग गरेर पत्र पनि बुझाउँदैछौँ’, पोखरेल समूहमा रहेका एक नेताले भने।
वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा बहस हुने बताउँदै आएका छन्। भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता रहेको बताउँदै आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको बताएका छन्।
यो विषयमा उनले सामाजिक सञ्जालमा पनि पोस्ट गरेर संकेत गरिसकेका छन्। पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने पनि उल्लेख गरेका छन्। उनले इतिहासका हरेक राष्ट्रिय संकट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि एमालेले नेतृत्व गर्दै आएको पनि पोखरेलको दाबी छ।
उनले २०–२२ भदौमा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेज पारित भएको तर तिनमा सुधार गर्नुपर्ने थप छलफल गर्नुपर्ने आवश्यकता रहेको समेत औँल्याएका छन्। भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको उनको भनाइ छ। राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थासमेत हिजोको अवस्थामा नरहेको उनले बताउँदै आएका छन्। पोखरेल समूहले आजै ११ बजे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम राखेको छ।
साथै सो अन्तरक्रिया कार्यक्रम सकिएपछि गुण्डु जाने कार्यक्रम तय गरेको छ। ‘आजै अध्यक्ष कमरेडलाई भेट्ने कार्यक्रम रहेको छ’, पोखरेल समूहका एक नेताले भने। एमालेभित्र अहिले आन्तरिक प्रतिस्पर्धा तीव्र देखिएको छ। जेनजी आन्दोलनपछि आन्तरिक ध्रुवीकरण बढिरहेका बेला पोखरेल समूहले प्यानल निर्माणको तयारी गरिरहेको छ। विगतमा ओली समूहका खम्बाद्वय गोकुल बास्कोटा र विनोद ढकालले पोखरेलको समूहगत मोर्चा सम्हाली रहेका छन्। अहिले उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईले पोखरेल समूहको टिम निर्माणमा पहल लिइरहेका छन्।
प्रकाशित: २२ मंसिर २०८२ ०७:०४ सोमबार





