१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

बिपीलाई फूल चढाएर फुटाउँदै पार्टी

‘नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्न आफ्नो संगठन नहुनु दुखद कुरा हो। त्यहाँ केही सीमित उद्देश्य भएका कतिपय स्थानीय संगठन पक्कै छन् तर आजको समयको माग नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय संगठन बनोस् भन्ने छ।’

२००३ सालमा बिपी कोइरालाले पार्टी गठनका लागि आह्वानसहित जारी गरेको अपिलको एक अंश हो यो। उनै बिपी कोइरालासहितका नेताहरूले आठ दशकअघि नेपाली कांग्रेस स्थापना गरेका थिए। आज (बुधबार) कांग्रेसका नेता तथा कार्यकर्ता बिपी कोइरालाको ४४औं स्मृति दिवस मनाउँदै छन्। उनकै तस्बिरमा माल्यार्पण गरेर बिपीको स्तुतिगानमा लागेका कांग्रेसका नेताहरू भने देश, जनता र पार्टीलाई होइन आफूमा राखेर अघि बढ्दा कांग्रेस भने संकटमा परेको छ।

कांग्रेसका नेताहरूको अहंकार, भय र आफ्नो स्थान र भविष्यको चिन्ता र चिन्तनले कांग्रेस संकटको डिलमा उभिएको छ। विश्वास र भरोसा गरेको पुस्तासँग लिगेसीको संकट र लिगेसी बोकेका नेताहरूसँग वैधानिकता अड्चनमा कांग्रेस रुमलिएको छ। परिणाम स्थापनको आठ दशकसम्म मुलुकको पथप्रदर्शक बनेको कांग्रेस अहिले गतिहीन बन्न पुगेको छ। आफू र आफ्नैसँग भयभित बनेका कांग्रेसका नेताहरूको ध्यान पार्टीमा कसरी टिक्ने र पार्टी कसरी कब्जा गर्नेमा केन्द्रित बन्न पुगेको छ।

देश र पार्टी अप्ठेरो अवस्थाबाट गुज्रिए पनि आफूलाई केन्द्रमा राखेका नेताहरूले बिपी स्मृति दिवसमा अलग र फरक ठाउँमा मनाउने तयारीमा छ।

संस्थापन पक्षले ग्रिन रनलगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने संस्थापन इतरले प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी विद्रोहसँग कांग्रेसमा मच्चिएको विद्रोहको आगो पुसमा विशेष महाधिवेशन भएसँगै एउटा समूह कांग्रेसको मूलधारबाहिर छ। तत्कालीन सभापति शेरबहादुर देउवासहित अघिल्लो पुस्ताका अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी भएनन्। उनीहरूले अहिले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाएका छन्।

बुधबारको कार्यक्रमपछि संस्थापन इतर समूहले राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ। इतर पक्षको बैठक र भेलामा सहभागी नभएका नेता शेखर कोइराला पनि बुधबारको कार्यक्रममा सहभागी हुने भएका छन्। यसले कांग्रेसलाई थप विग्रहतर्फ अघि बढाउने धेरैको बुझाइ छ। तर उपसभापति विश्वप्रकाश शर्माले बिपी कोइराला सबैको भएको जनाउँदै पार्टीभित्रको विवाद हल गर्दै अघि बढ्ने दाबी गरे। ‘अझै भन्ने हो भने कांग्रेसको मात्र नभएर कांग्रेसबाहिरकाले पनि सम्मान, श्रद्धा गर्न मिल्छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘त्यसैले कहीँ पनि कसैले पनि कार्यक्रम गर्दैगर्दा त्यसप्रति नकारात्मक टिप्पणी कांग्रेसले गर्दैन।’

तर कर्मशील मौरी टाढाटाढा पुगेर फूलको रस ल्याएर जीवनोपयोगी रस (मह) बनाएजस्तै कांग्रेस र तिनका नेताहरू मिल्दा देशमा ठुला परिवर्तन सम्भव भएका थिए। जब झगडा गर्छन्, फेरि तिनै मौरीजस्तै जीवनरक्षा गर्ने खिल एकअर्काविरुद्ध प्रयोग गरेर मौरी आफू पनि मर्छ, अरूलाई पनि मार्छ। भदौ २४ गतेपछिको कांग्रेस त्यही मर्ने र मार्ने मौरी बन्न पुगेका छन्। एकले अर्कालाई झुकाउने र झुक्याउने च्याँखे दाउमा कांग्रेसका नेता तथा कार्यकर्ता एकअर्काविरुद्ध आगो ओकलिरहेका छन्।

एकअर्काप्रति मान, सम्मान र पारिवारिक वातावरण कायम गर्ने काममा कांग्रेसमा ह्रास आएको छ। बिपीको बेलाको नीति, कार्यक्रम, सिद्धान्त र योजना मात्र होइन, अहिले कांग्रेसमा मित्रता र भाइचाराको रङसमेत हराएको छ। फागुन २१ गते भएको निर्वाचनले जनसमर्थन पनि गुमाएको कांग्रेसले विश्वास आर्जन गर्न एकता र मेलमिलाप होइन, अविश्वास बढाउँदै विभाजन र विलयतर्फ उद्धत भएको विश्लेषण गर्न थालिएको छ।

देउवा नेपाल आउने

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू स्वास्थ्य उपचारपछि चाँडै स्वदेश फर्किने बताएका छन्। फागुन २१ गतेको निर्वाचनको संघारमा बिदेसिएका देउवाले बिपी कोइरालाको स्मृति दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति निकाल्दै सरकारलाई प्रतिशोधको राजनीति नगर्न सचेत गराएका छन्। केही समय देखि हङकङमा रहेका देउवाले लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षाका लागि पुनः नेपाली भूमिमा फर्किन लागेको जनाएका छन्। करिब ६ दशकभन्दा बढीको राजनीतिक यात्रालाई स्मरण गर्दै लोकतन्त्रको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाउने दाबी गरेका छन्।

स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राखेर प्रतिपक्षलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि देउवाले लगाएका छन्। विगतका अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलतालाई जोडेर राष्ट्रनिर्माणको साझा अभियान अघि बढाउनुपर्नेमा देउवाको जोड छ। लोकतन्त्र कमजोर हुँदा राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमसत्तासमेत जोखिममा पर्ने भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको जनाउँदै देउवाले बिपी कोइरालाकाे राजनीतिक अादर्श स्मरण गरेका छन्।

प्रकाशित: ६ श्रावण २०८३ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App