जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीको चरम दुरुपयोग गर्ने गरेको बताएका छन्। दलहरूको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीबारे टिप्पणी गर्दै बस्नेतले दलहरूले समानुपातिक निर्वाचन प्रणालीको संवैधानिक मर्ममाथि गम्भीर प्रहार गरेको आरोप लगाएका हुन्।
उम्मेदवार चयन गर्दा पटकपटक विभिन्न महत्वपूर्ण अवसर र लाभको पद भोग गरेका, सेलीब्रेटी, व्यापारिक घरानाका व्यक्ति, नाता, दाता र नेताका प्रीय व्यक्ति नै दलहरूको प्राथमिकतामा पर्ने गरेको भन्दै समानुपातिक निर्वाचन प्रणाली सुन्दर प्रणाली भए पनि नेपालमा यसको कुरुप अभ्यास हुने गरेको उनी बताउँछन्। बस्नेतले भने, ‘समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले बुझाएको बन्दसूची हेर्दा दलहरू कति भ्रष्ट र कुरुप छन् भन्ने कुरा प्रष्ट देखिन्छ। दलहरूले भौगोलिक प्रतिनिधित्वलाई समान बनाउने प्रयत्न पनि गरेको देखिँदैन।’
उत्पीडित समुदाय र वर्गलाई अवसर दिने पद्धतिलाई यति विघ्न विकृत बनाउन पुराना दलका प्रमुख नेताहरूको मुख्य भूमिका भएको र नयाँ दलहरूले पनि उनीहरूकै सिको गरेको उनको आरोप छ।
समानुपातिक निर्वाचन प्रणालीलाई दलहरूले प्रत्यक्ष निर्वाचन जित्न नसक्ने पहुँच भएकाहरूको संसद छिर्ने चोर बाटो बनाएको उनको भनाइ छ। समानुपातिक समावेशीकरण कार्यान्वयनले समाजको हरेक वर्ग, जाति, समुदाय, तह र तप्काको प्रभावकारी उपस्थितिको प्रत्याभूति हुनुपर्नेमा उनको जोड रहेको छ।
संविधानले सामाजिक न्यायको हकअन्तर्गत सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाती, मधेसी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागीतको हक सुनिश्चित गर्न गरिएको संविधानको व्यवस्थालाई दलहरूले पालना गर्नुपर्नेमा उनको जोड रहेको छ।
दलहरूबाट हुने र गर्ने गल्ती, कमीकमजोरीलाई निर्वाचन आयोगले संविधानको मर्मबमोजिम गर्ने गराउनुपर्नेमा उनको जोड रहेको छ।
प्रकाशित: १७ पुस २०८२ ०९:१८ बिहीबार





