प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य हुँदैछ। यही चैत १९ गते सुरु भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन मात्रै ६ वटा बैठक बसेर अन्त्य हुन लागेको हो।
चैत १९ गते पहिलो बैठक बसेको प्रतिनिधि सभामा २२, २३, २४, २५ र २७ गते बैठक बसेका थिए। २७ गते शुक्रबार राष्ट्रियसभा र प्रतिनिधि सभाको संयुक्त बैठक बसेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका छन्।
अधिवेशनको अन्तिम दिन शुक्रबार राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। यस्तै, शुक्रबारकै बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई निर्वाचित गरेको छ। यसअघि नै सभामुखमा डोलप्रसाद अर्याल चयन भइसकेका छन्।
करिब ९ दिनको अवधिमा यो अधिवेशन राजनीतिक र संसदीय दृष्टिकोणले निकै सघन र परिणाममुखी देखिएको छ। अधिवेशनको पहिलो दिनमै प्रमुख दलका नेताहरूले नयाँ सरकारका प्राथमिकता र संसद्को आगामी कार्यभारबारे धारणा राखेका थिए।
सांसदहरूले सरकारले गृह प्रशासन र निर्वाचनसँग सम्बन्धित तीन वटा महत्त्वपूर्ण अध्यादेशहरू (मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवा संशोधन) पेस गरेको छ। साथै, वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ संसद्मा प्रस्तुत भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वार्षिक प्रतिवेदनहरू संसद्मा पेस गरेका छन्।
यस्तै, अधिवेशनका बिचमा राष्ट्रिय सभातर्फ राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन र चार विषयगत समितिको सभापति निर्वाचन सम्पन्न भएको छ। समसामयिक विषयमा सांसदहरूले जनसरोकारका विषयमा धारणा पनि राखेका थिए।
सांसदहरूले जनताका समस्याहरूको उठान गर्दै त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।
प्रकाशित: २७ चैत्र २०८२ १९:२५ शुक्रबार




-600x400.jpg)