२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

पाख्रीबास नगरले मन्त्रालयलाई भन्यो- ‘दिनदिनै हाकिम फेर्दा पनि फरक पर्दैन, गाई ब्याउन रोकिएको छैन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हठात् कर्मचारी सरुवा गर्ने परिपाटी विरुद्ध धनकुटाको पाख्रीबास नगरपालिकाले व्यंग्यसहितको पत्र पठाएको छ।

बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहने र नगरपालिकालाई अस्थिर बनाउने काम भएको भन्दै नगर प्रमुख ज्ञान बहादुर गुरुङले मन्त्रालयलाई ‘दिनदिनै नयाँ हाकिम पठाए पनि यहाँको प्राकृतिक चक्र नरोकिने’ भन्दै पत्र पठाएका हुन्।

नगर प्रमुख गुरुङले मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाई गर्न, फलफूल लगाउन फूल्न, फल्न र सो को निकासा गरी बिक्रिवितरण गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना/महिनामा वा सम्भव भए दिनदिनै छुट्टा छुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकि पठाउदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ।’

नगरपालिकामा कर्मचारी स्थिर नहुँदा काम गर्न गाह्रो भएको उपप्रमुख नम्रता गौतमले बताइन्। नागरिक न्युजसँगको कुराकानीमा उनले अहिलेका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला आएको ७–८ महिना मात्र भएको र कामको लय पक्रन नपाउँदै सरुवा भएकोमा असन्तुष्टि जनाइन्।

‘हाकिम साब आउनुभएको ७–८ महिना भयो होला, बस्नै नपाइ फेरी सरुवा हुनुभएछ,’ उपप्रमुख गौतमले भनिन्, ‘विकास निर्माणको काम गर्न कम्तीमा २ देखि ५ वर्ष एउटा कर्मचारी टिक्यो भने सजिलो हुन्छ। भर्खर सहकार्य हुन थाल्छ, कुरो मिल्न थाल्छ अनि सरुवा भइहाल्छ। यसले गर्दा अलि समस्या त हुन्छ नै।’

उनले मेयर साबले मन्त्रालयको यो प्रवृत्ति देखेर नै आक्रोशमा पत्र लेखेको हुन सक्ने बताइन्।

नगरपालिकाका सूचना अधिकारी अनिस काफ्लेले उक्त पत्र आधिकारिक भएको पुष्टि गर्दै यो मन्त्रालयको कार्यशैली विरुद्धको सांकेतिक विरोध भएको बताए।

काफ्लेले भने, ‘अहिलेका हाकिम विज्ञान कोइरालाको सरुवा भएर नयाँ आउने कुरा छ। मेयर साबले यही कुरामा चित्त नबुझेर यो पत्र लेख्नुभएको होला।’ 

उनका अनुसार यसअघि २०८१ साउनमा आएका पुरुषोत्तम ढकाल छोटो समयमै गएका थिए भने त्यसपछि चैतमा आएका विज्ञान कोइरालाको पनि अहिले सरुवा भएको छ।

छोटो समयमै नेतृत्व परिवर्तन हुँदा नगरपालिकाको दैनिक कार्य सम्पादनमा असर परेको उनको भनाइ छ। यस विषयमा बुझ्नका लागि नगर प्रमुख ज्ञान बहादुर गुरुङलाई पटक–पटक सम्पर्क गर्न खोज्दा उनको फोन ‘स्विच अफ’ रहेको कारण सम्पर्क हुन सकेन।

प्रकाशित: २२ मंसिर २०८२ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App