श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका क्रममा प्रवेश गर्न नदिइएपछि आइतबार मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ।
साम्पाङ बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम थियो। तर उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा झडप भएको थियो।
यसअघि नै हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको तथा विगतमा गाईको मासु सम्बन्धी दिएको अभिव्यक्तिलाई आधार बनाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो।
घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले जनकपुरमा तनाव उत्पन्न भएको भन्दै गृहमन्त्रीसँग सम्पर्क हुन नसकेको बताएका छन्। उनले, ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
त्यसपछि उनले अर्को स्टाटसमा आफू मन्दिर पुग्नुअघि नै विभिन्न भ्रम फैलाइएको भन्दै लेखेका छन्, ‘म जनकपुर पुगेकै छैन, लखेटेको भन्ने भ्रम आइसकेछ।’
पछिल्लो स्टाटसमा साम्पाङले जानकी मन्दिर परिसरमा आफ्ना कार्यकर्तामाथि दुर्व्यवहार भएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘जानकी मन्दिर परिसरमा हाम्रा श्रमदाताहरूलाई दुर्व्यवहार भएछ। त्यसैले मन्दिर दर्शन गर्न नसक्ने भइयो आज। कुनै दिन जानकी देवीले दर्शन दिनुहोला।
’यसअघि उनले अर्को स्टाटसमा हिन्दू सम्राट सेनाले आफूलाई गाईको मासु सम्बन्धी पुरानो अभिव्यक्तिका आधारमा मन्दिर प्रवेश रोक्न खोजेको विषयमा प्रश्न उठाउँदै लेखेका छन्, ‘गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें। यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर। ’
प्रकाशित: ५ श्रावण २०८३ १३:१८ मंगलबार





