श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले सदनमा प्रधानमन्त्री नआइन्जेलसम्म आफू बैठक बहिस्कार गरिरहने बताएका छन्।
बुधबार संसद बैठक छोडेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री बोलाउन सभामुखसँग आग्रह गरेपनि माग पूरा नभएपछि आफू बाहिरिएको बताए। उनले भने,‘ सभामुखले रुलिङ पनि गर्नुहुन्न, निस्केर जा पनि भन्नुहुन्न। म आफैँ निस्किएँ।’
प्रधानमन्त्री बन्नका लागि क्षमता हुनुपर्ने बताउँदै उनले भने,‘प्रधानमन्त्री आएर बोल्नुस् त भनेको हो। बोल्नु पनि पर्छ। यति क्षमता योग्यता हुनुपर्छ क्या प्रधानमन्त्री बन्नका लागि।’
यसअघि उनले बैठकमा प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखलाई रुलिङ गर्न माग गरेका थिए। सभामुखले रुलिङ गर्न अस्विकार गरेपछि उनी झोला बोकेर बाहिरिएका थिए।
प्रकाशित: १३ जेष्ठ २०८३ १२:०१ बुधबार





