नेकपा एमालेका नेता रघुजी पन्तले मुलुक आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म साँचो अर्थमा स्वतन्त्र हुन नसक्ने बताएका छन्।
बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रियटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै नेता पन्तले अहिलेको विश्व व्यवस्थामा राजनीतिक स्वतन्त्रताले मात्र नपुग्ने भन्दै आर्थिक सवलतामा जोड दिएका हुन्।
नेता पन्तले विश्वका शक्तिशाली राष्ट्रहरू पनि आर्थिक स्वार्थ र दबाबका अगाडि झुक्नुपरेको उदाहरण प्रस्तुत गरे।
‘अहिलेको विश्व व्यवस्था दकिरहेको छ। ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाउँछु भन्नासाथ भारतले रसियासँग तेल खरिद रोक्छु भन्ने स्थिति आयो,’ पन्तले भने, ‘जब कि भारत आफैंमा एक उदाउँदो शक्ति हो। तर, आर्थिक स्वार्थ एकदमै शक्तिशाली भएर आएको छ।’
उनले नेपालको राष्ट्रियता बलियो बनाउन र साँचो अर्थमा स्वतन्त्र हुनका लागि आर्थिक परनिर्भरता अन्त्य गर्नुपर्नेमा जोड दिए।
नेपालले उत्तरतर्फ (चीन) को बाटो किन खोल्नुपर्छ भन्ने सन्दर्भमा बोल्दै पन्तले पारवहनका लागि भारतसँग मात्र भर पर्दा नेपाली उद्योगहरूले सास्ती भोग्नुपरेको बताए।
‘हाम्रो औद्योगिक विकासका लागि भारतसँग मात्र पारवहनमा भर पर्दा धेरै अप्ठ्याराहरू भोगिरहेका छौँ,’ उनले भने, ‘व्यवसायीहरूको गुनासो छ कि कच्चा पदार्थहरू समयमै ड्राइपोर्टमा आइपुग्दैनन्। चार-पाँच महिनासम्म सामान रोकिँदा हाम्रो उद्योग कसरी बलियो हुन्छ ?’
उनले यो विषय भूराजनीति मिलाएर जाने वा कसैलाई चिढ्याउने भन्दा पनि नेपालको औद्योगिक हितका लागि उत्तरतर्फको नाका र सम्बन्ध विस्तार आवश्यक रहेको प्रष्ट पारे।
नेता पन्तले खाद्य सम्प्रभुता भन्ने शब्द नारामा मात्र सीमित भएको टिप्पणी गरे। ‘जबसम्म आफूलाई चाहिने कृषि उपज आफैँ उत्पादन गर्न सक्दैनौँ, तबसम्म खाद्य सम्प्रभुता बलियो हुँदैन,’ उनले भने, ‘अमेरिका र चीनले जसरी कृषिलाई सहुलियत दिएका छन्, हामीले त्यो स्तरमा नसकौँला तर सोच्न जरुरी छ।’
प्रकाशित: २९ माघ २०८२ १९:३२ बिहीबार




-600x400-wm.jpg)
