निर्वाचन आयोगले आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये एक जनाको उम्मेदवारी खारेज गरेको छ ।
आयोगले आज नियमित पत्रकार सम्मेलन गर्दै एक जनाको उम्मेदवारी खारेजी भएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पाँच जनाविरुद्ध दावी विरोध परेकामा एक जनाको उम्मेदवारी खारेज भएको र बाँकी चार जनाको यथावत रहेको बताए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो ।
बिहीबार उनीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो।
निर्वाचन अधिकृत देवराज भारतीले गरेको निर्णय आदेशमा चौधरीलाई टीकापुर घटनामा जन्मकैदको सजाय भएको र राष्ट्रपतिबाट माफी पाए पनि कानुनी रूपमा उनी उम्मेदवार बन्न अयोग्य रहेको उल्लेख छ।
आदेशमा भनिएको छ, ‘राष्ट्रपतिबाट माफी भएको देखिए तापनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) बमोजिम राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला बदर हुने छैन भन्ने मौजुदा कानुनी व्यवस्था रहेको छ।’
साथै, निर्वाचन आयोगको २०८०/११/२४ को निर्णयले पनि उनलाई राजनीतिक दलको सदस्य बन्न अयोग्य ठहर गरेको आधारमा मनोनयन पत्र खारेज गरिएको हो।
२०७२ भदौ ७ गतेको टीकापुर घटनाका मुख्य योजनाकार भन्दै जिल्ला अदालत कैलालीले उनलाई दोषी ठहर गरेको थियो। डिल्लीबजार कारागारमा रहेका चौधरीलाई सरकारको सिफारिसमा २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।
यसअघि २०७९ को निर्वाचनमा पनि बर्दिया–२ बाट उनको उम्मेदवारी खारेज भएको थियो।
प्रकाशित: ९ माघ २०८२ १५:२३ शुक्रबार





