नीलो टोपी लगाएको ५ वर्षीय बालक आँसुले भरिएको आँखासहित कारको नजिक उभिरहेको छ। उसको पछाडि कालो मास्क लगाएका एक संघीय आप्रवासन अधिकारीले बच्चालाई नियन्त्रणमा लिएका छन्।
अहिले अमेरिकाको मिनेसोटाको एउटा तस्बिर विश्वभर भाइरल भइरहेको छ। यो तस्बिर डोनाल्ड ट्रम्पको अमेरिकाको हो। यसलाई ट्रम्प सरकारको आक्रामक, कठोर र अमानवीय आप्रवासी विरोधी नीतिहरूको जीवन्त प्रतीक मानिएको छ।
अमेरिकी अध्यागमन अधिकारीहरूले ५ वर्षीय बालक लियाम कोनेजो रामोस र उनका बुबालाई मिनेसोटास्थित उनीहरूको घर बाहिरबाट पक्राउ गरेर टेक्सासको हिरासत केन्द्रमा पठाएका छन्।
आलोचकहरूले यो घटनालाई अत्यन्तै अमानवीय भनेका छन्। तर ट्रम्प प्रशासनले परिवार अवैध रूपमा अमेरिकामा प्रवेश गरेको र बुबाले ‘आफ्नो बच्चालाई छोडेर’ पैदल भाग्न खोजेको दाबी गरेको छ।
मिनेसोटामा के भएको हो?
स्कुलका अधिकारी र परिवारका वकिलले दिएको जानकारी अनुसार मिनेसोटाको कोलम्बिया हाइट्स पब्लिक स्कुल्सबाट घर आइपुग्दा अध्यागमन अधिकारीहरूले ५ वर्षीय बालकलाई उनका बुबासँगै हिरासतमा लिएका थिए। पक्राउ परेपछि दुई जनालाई टेक्सासको डिलीस्थित अध्यागमन हिरासत केन्द्रमा लगिएको छ। यससँगै पाँच वर्षीय रामोस पछिल्ला हप्ताहरूमा अध्यागमन अधिकारीहरूले हिरासतमा लिएका मिनियापोलिस उपनगरका चौथो विद्यार्थी बनेका छन्।
ती बालक कोलम्बिया हाइट्स पब्लिक स्कुलमा पढ्थे। स्कुल सुपरिटेन्डेन्ट जेना स्टेनभिकका अनुसार संघीय अधिकारीहरूले जनवरी २० मा दिउँसो स्कुल अगाडि चलिरहेको कारबाट लियाम र उनका बुबालाई पक्राउ गरेका थिए। अधिकारीहरूले पछि उनको घरभित्र अरू कोही छ कि छैन भनेर हेर्नको लागि बच्चालाई घरको ढोका ढकढक्याउन लगाएका थिए। स्कुलले ‘५ वर्षीय बालकलाई चाराको रूपमा प्रयोग’ गरिएको भनेको छ।
स्टेनभिकले बिहीबार पत्रकारहरूलाई त्यो अवस्थामा, बुबाले घर भित्र रहेकी बच्चाकी आमालाई ढोका नखोल्न भनेको सुनाइन्।
पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले एक्समा लेखेकी छिन्, ‘लियाम रामोस भर्खरका बच्चा हुन्। उनी आफ्नो परिवारसँग घरमा हुनुपर्छ, अध्यागमन अधिकारीहरूद्वारा चाराको रूपमा प्रयोग गरिनु हुँदैन। टेक्सासको हिरासत केन्द्रमा राखिनु हुँदैन।’
अधिकारीहरूले बच्चालाई पनि हिरासत केन्द्रमा लगे
स्कुलका अधिकारीहरूले अनुसार अधिकारीले ५ वर्षीय लियामलाई परिवारका कुनै सदस्य वा स्कुलका अधिकारीहरूसँग छोडेनन्। बिहीबार गृह सुरक्षा विभागकी प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनले एक अनलाइन पोस्टमा बुबाले बच्चालाई आफूसँगै राख्न आग्रह गरेको भनेकी छिन्। उनको दाबी अनुसार उनीहरू टेक्सासको डिलीमा रहेको अध्यागमन हिरासत केन्द्रमा सँगै थिए।
के बच्चा र परिवार अमेरिकामा अवैध रूपमा बस्दैछन्?
स्कुल र परिवारका वकिलले परिवार सन् २०२४ मा अमेरिका प्रवेश गरेको बताएका छन्। दाबी अनुसार उनीहरू गैर कानुनी रूपमा अमेरिकामा बसेका छैनन्। उनीहरूले अमेरिकामा शरणको लागि आवेदन दिएका छन्। सोको प्रक्रिया जारी छ। परिवारलाई देश छोड्न आदेश दिइएको छैन। परिवारका वकिल मार्क प्रोकोशले बुबा र छोरा दुवै प्रवेशद्वारबाट अमेरिका आइपुगेको बताए। त्यसको अर्थ उनीहरू आधिकारिक मार्गबाट अमेरिका प्रवेश गरेका थिए।
ट्रम्प सरकारको फरक दाबी
गृह सुरक्षा विभागका प्रवक्ता म्याकलाफ्लिनले एक विज्ञप्तिमा भनेका छन्, ‘अध्यागमन अधिकारीहरूले कुनै पनि बच्चालाई लक्षित गरेको छैन।’ उनको दाबी अनुसार अध्यागमन अधिकारीहरूले बच्चाको बुबा एड्रियन अलेक्जेन्डर कोनेजो एरियासलाई पक्राउ गरेका हुन्। म्याकलाफ्लिनले उनी इक्वेडरका भएको र अवैध रूपमा अमेरिकामा बसेको बताए।
सरकारले एरियास आफ्नो बच्चालाई छोडेर पैदल भागेको दाबी गरेको छ। ‘बालकको सुरक्षाको लागि, हाम्रा एक अध्यागमन अधिकारी बच्चासँगै रहे जबकि अन्य अधिकारीहरूले कोनेजो एरियासलाई पक्राउ गरे,’ म्याकलाफ्लिनले भने। उनका अनुसार आमाबाबुलाई आफ्ना बच्चाहरूसँग छोड्ने वा उनीहरूको रोजाइको कसैसँग राख्ने विकल्प दिइएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार मिनियापोलिसका नेताहरूसँग भेटेर ‘भयानक’ भनेका थिए। तर पछि थाहा पाए कि बच्चालाई केवल हिरासतमा राखिएको थियो, पक्राउ गरिएको थिएन। ‘उनीहरूले के गर्नुपर्थ्यो? के उनीहरूले ५ वर्षको बच्चालाई चिसोमा मर्न दिनुपर्थ्यो? के उनीहरूले अमेरिकामा एक अवैध आप्रवासीलाई पक्राउ गर्नुपर्दैनथ्यो?’ उनले सोधे।
यद्यपि स्कुलले यो दाबीलाई अस्वीकार गरेको छ। स्टेनभिकका अनुसार बुबाले आफ्नो छोरालाई त्यागेर भागेका थिएनन्। बाबुछोरालाई लैजाने बेलामा सो घरमा बस्ने एक वयस्क बाहिर थिए। तर अधिकारीहरूले लियामलाई त्यो व्यक्तिसँग छोडेनन्।
यसबाहेक, कोलम्बिया हाइट्स पब्लिक स्कुल्स स्कुल बोर्डकी अध्यक्ष मेरी ग्रानलुन्डले अधिकारीहरूलाई बच्चा आफूसँगै छोड्न पनि भनेकी थिइन्। तर अधिकारीहरूले अस्वीकार गरेका थिए।
यो तस्बिरले के देखाउँछ?
यी ५ वर्षीय बालकको तस्बिरले ट्रम्प आप्रवासन सम्बन्धी आफ्नो आक्रामक अडान परिवर्तन गर्न तयार छैनन् भन्ने देखाएको छ। यसका लागि उनका अधिकारीहरूले सीमा नाघेर अमानवीय कार्यहरू गरे पनि उनी टसमस हुने देखिएको छैन। एजेन्सीहरूको सहयोगमा
प्रकाशित: ९ माघ २०८२ १५:२० शुक्रबार





