केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे राजनीतिक सहमतिपछि मधेश प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ।
शीर्ष तहमा नयाँ गठबन्धन निर्माणको गृहकार्य अघि बढेसँगै मधेशमा पनि सरकार पुनर्गठनको सम्भावनाबारे राजनीतिक भेटघाट र कसरत तीव्र बनेको छ।
सार्वजनिक भएको सहमति पत्रमा प्रदेश सरकारहरूमा संयुक्त रूपमा सहकार्य गर्ने उल्लेख गरिएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। मधेश र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख छ। यही व्यवस्थाले मधेश प्रदेशको नयाँ सत्ता समीकरणलाई थप रोचक बनाएको छ।
मधेश प्रदेश सभामा हाल १०१ जना सांसद कायम छन्। जसमा जसपा नेपालका २६, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १५, जनमत पार्टीका १२ तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन्।
यसअघि प्रदेश सभामा १०७ सदस्य रहेकामा विभिन्न कारणले संख्या घटेको हो। लोसपाका अभिराम शर्मा, जसपा नेपालका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बनमा छन् भने जनमत पार्टीका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहवर अन्सारीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेशमा कुनै पनि दल एक्लै सरकार बनाउन सक्षम नभएकाले नयाँ समीकरणका लागि बहुदलीय सहमति अपरिहार्य देखिन्छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणको प्रभाव अब मधेश प्रदेशमा पनि प्रत्यक्ष देखिने अपेक्षा गरिएको छ।
सरकारको नेतृत्व कसले गर्ने, कुन दल सरकारमा सहभागी हुने र सत्ता बाँडफाँटको अन्तिम मोडालिटी कस्तो रहने भन्ने विषयमा शीर्ष नेताहरूबीच छलफल जारी रहेको स्रोतहरूको भनाइ छ। आगामी केही दिनभित्र हुने राजनीतिक निर्णयले मधेश प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुग्ने सम्भावना छ।
केन्द्रमा विकसित राजनीतिक घटनाक्रमसँगै मधेश प्रदेशमा सरकार परिवर्तनको चर्चा चुलिए पनि मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले वर्तमान गठबन्धन यथावत् रहने दाबी गरेका छन्।
मुख्यमन्त्री यादवका अनुसार केन्द्रमा दलहरूबीच नयाँ सहमति भए पनि त्यसको प्रभाव मधेश प्रदेशमा नपर्ने र वर्तमान सत्ता गठबन्धन निरन्तर रहनेछ। उनले भने, “केन्द्रमा जे–जस्तो राजनीतिक समीकरण बने पनि मधेश प्रदेशमा अहिलेको गठबन्धन कायम रहन्छ।”
यता, सरकारको नेतृत्व गरिरहेको गठबन्धनकै प्रमुख साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले भने सत्ता समीकरण परिवर्तनको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेको छैन।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले हालसम्म कुनै पनि दलबाट औपचारिक प्रस्ताव वा छलफल नभएको स्पष्ट पार्दै केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणले मधेशमा पनि नयाँ सम्भावनाको संकेत दिएको बताए।
“हालसम्म कुनै दलसँग सत्ता समीकरणबारे औपचारिक संवाद भएको छैन। तर केन्द्रमा एमाले र नेकपा एक ठाउँमा उभिएपछि प्रदेशको राजनीतिमा पनि नयाँ परिस्थिति सिर्जना हुन सक्छ,” उनले भने।
प्रवक्ता सुमनले मधेश प्रदेशमा जसपा नेपाल नै निर्णायक शक्ति रहेको दाबी गर्दै सरकारको भावी स्वरूप तय गर्न आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहने बताए। उनका अनुसार सरकारमा सहभागी दलहरूबीच विगतदेखि देखिएको असन्तुष्टि र मतभेदले पनि नयाँ राजनीतिक समीकरणको सम्भावनालाई बल पुर्याएको छ।
मधेश प्रदेशमा कुनै पनि दलसँग स्पष्ट बहुमत नरहेकाले सरकार गठनका लागि बहुदलीय सहमति अपरिहार्य देखिन्छ।
प्रकाशित: १० श्रावण २०८३ १७:१२ आइतबार





