सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरोको यस महाविपत्तिमा विभाजित नभई सबै राजनीतिक दल एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकमा सुरुङभित्र फसेका नागरिकहरूको उद्धार, राहत वितरण र तीनै तहका सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले यो विपत्ति नेपालका कारण नभई ठूला कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण निम्तिएको बताए। उनले नेपालले यसको क्षतिपूर्ति दाबी गर्न अन्तर्राष्ट्रिय अदालत तथा संयुक्त राष्ट्रसंघसम्म जानुपर्ने माग गरे।
नेता शाहीले भने, ‘यो विपत्ति भएको कारण भनेको कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा हामीले विपत्ति भोगिरहेका छौं। यसको क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ। अन्तर्राष्ट्रिय समुदायकहाँ जानुपर्छ कि संयुक्त राष्ट्रसंघमा जानुपर्छ ? हामीले त्यो संसद्बाट पास गरेर हाम्रो हकदाबी गर्ने हो। हामीले क्षतिपूर्तिसहित माग गर्नुपर्छ।’
संकटको यस घडीमा सबै दलहरू एकढिक्का भएर सरकारलाई साथ दिनुपर्ने बताउँदै उनले राहत तथा पुनर्निर्माणलाई नतिजामुखी बनाउन संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग पूर्ण समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित: १६ भाद्र २०८३ १७:०९ मंगलबार





