१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

नेपालकी कान्छी उपसभामुख रुबीकुमारी ठाकुर

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । मतविभाजन प्रक्रियाबाट राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर उपसभामुख चयन भइन् ।

रुबीकुमारीलाई श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीले मतदान गरेका थिए भने नेकपा एमाले तटस्थ बसेको थियो ।  

कसरी जुट्यो रुबीको नाममा समर्थन

राजनीतिमा असम्भव केही छैन भन्ने कुरा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बीचको बढ्दो निकटताले प्रमाणित गरेको छ। यही 'समधुर सम्बन्ध' को सुखद परिणाम स्वरूप, २६ वर्षीया रुबी कुमारी ठाकुर मुलुकको सबैभन्दा कान्छी उपसभामुख बनेकी छन् ।  

रुबीकुमारीलाई उपसभामुख बनाउन बिहीबार (हिजो) संसद सचिवालयमा श्रम संस्कृति पार्टीका आरेन राई प्रस्तावक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीको समर्थनमा उपसभामुख पदमा उम्मेदवारी दर्ता भयो ।

आजको सदनको संयुक्त बैठकपछि भएको प्रतिनिधिसभा बैठकमा सांसद आरेनको प्रस्तावमा सांसदहरू अशोककुमार चौधरी र अम्बिका देवी संग्रौलाको समर्थनमा रुबीकुमारी उपसभामुख बनिन् ।  

संसदमा रास्वपाको १८२ र श्रम संस्कृतिको सातसहित १८९ सांसदको समर्थन नै ठाकुर उपसभामुख बन्न पुग्दो थियो । त्यसमा अन्य दलले पनि उनलाई नै मत हाले ।  

को हुन कान्छी उपसभामुख रुबीकुमारी ठाकुर ?

रुबीकुमारी ठाकुर धनुषाको जनकपुरधाम नगरपालिका -१४ मुझेलियाकी स्थानीय बासिन्दा हुन् । बुबा सोगरथ ठाकुर र आमा रेनुदेवी ठाकुरको सन्तानका रुपमा जन्मिएकी उनी जेन-जी पुस्ताकी नेतृ ।  

रुबीका बुबा पहिले सैलुनमा ‘नाइ’ काम गर्थे । वैदेशिक रोजगारीका लागि पछिल्लो समय साढे तीन वर्षअघि साउदी अरेबिया गएका उनी छोरी सांसद् बनेपछि एक हप्ता अघि मात्र नेपाल आएका छन् ।  

आमा रेनुदेवी ठाकुर, अहिले पनि ज्याला मजदुरी काम गर्छिन । रूबी बालखै हुँदा आमाले इँटाभट्टामा मजदुरी गरेर बनीबुतो गरेर पालेकी उनले अहिले पनि आफ्नो दैनिकी कायम राखेकी छन् । रुबीको परिवारमा बुबाआमाँगै चार बहिनी र दुई भाइ ।

२०७४ सालमा एसईई उतीर्ण गरेकी उनले धनुषाकै बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लो (इन्जिनियरिङ) अध्ययन पूरा गरिन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङ सकेर अहिले ब्याचलर इन इन्जिनियरिङ पढ्दै छिन्। पढाइसँगै उनले वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गरिन् । सांसद बन्नुअघिसम्म नियमित कन्सल्टेन्सीमा मासिक २० हजार तलब लिएर काम गरिन् ।

जागिरका सिलसिलामा उनले करिब सात महिनासम्म नक्सा बनाउने, टूडी (2D) र थ्रिडी (3D)डिजाइनजस्ता प्राविधिक काम गरिन् ।

रुबीकुमारीको राजनीतिक यात्रा

राजनीतिक दल श्रम संस्कृति पार्टी नेपालबाट उपसभामुख बनेकी उनी लामो राजनीतिक यात्रामा लागेकी पात्र भने होइनन् । लामो राजनीतिक यात्रा नसोचेकी नेपालको संसदमा कान्छी सांसदका रुपमा प्रतिनिधि सभामा सहभागी भइन् । उनी अब कान्छी उपसभामुखको पहिचान बनाएकी छन् ।  

राजनीति गर्ने सोच नभए पनि परिवारको जिम्मेवारी उठाउने तथा चार बहिनी र दुई भाइको 'आदर्श' बन्ने सपना थियो । आमा र बुबाको जिम्मेवारीको साझेदार बन्ने सोचले सानैमा आएका विवाहका प्रस्ताव अस्वीकार गर्दै सामाजिक रुपान्तरणमा आफ्ना आवाज उठाउन थालेकी थिइन । उनी आफूमा मात्र होइन मधेसका छोरी सबैमा कलिलैमा विवाह गरेर पारिवारिक बोझ उठाउनुपर्ने अवस्था अन्त्य होस् भन्ने सोचसहित काम गर्न  चाहन्थिन्। यही सोच र सबैको न्यायका लागि अघि बढ्ने दृढताले उनलाई राजनीतिक यात्रा तर्फ डोहोर्‍यायो ।  

धरान उपमहानगरपालिकाका तत्कालीन मेयर हर्क साम्पाङले अगुवाइ गरेको श्रम अभियान, श्रम जागरण, श्रम चेतनाले उनलाई थप आकर्षित गर्‍यो।  

जब हर्क साम्पाङ चुनावी अभियानका क्रममा धनुषा पुगे, पहिलोपटक साम्पाङलाई त्यही भेटिन् । साम्पाङको भाषण अन्य नेताभन्दा फरक पाइन् । पार्टी नेतृत्वकर्तासँग प्रभावति बनेपछि उनी पार्टीमा आबद्ध भइन्। यही आवद्धताले उनलाई उपसभामुखको कुर्सीसम्म डोहोर्‍यायो । मतदातासँग प्रत्यक्ष संवाद गरिन् र धनुषा-४ मा प्रचारको एक प्रमुख अनुहारका रूपमा उभिइन् ।

प्रत्यक्षतर्फ तीन ठाउँ जितेको श्रम संस्कृतिले समानुपातिकतर्फ थप चार सिट हात पार्दा मधेसी क्लस्टरबाट रूबीकुमारीको नाम छानियो। पार्टी आफ्नो नाम समानुपातिक सांसदका रुपमा सुनाउँदा 'सरप्राइज' भएको प्रतिक्रिया रुवीले दिएकी छन् ।  

उम्मेदवारी दर्तापछि पनि खुसी हुँदै उनले आफ्ना लागि ठूलो पद भए पनि नेपाली जनताको विश्वास कायम राख्दै जिम्मेवारी पूरा गर्न दृढ रहेको प्रतिक्रिया दिएकी छन् ।  

संसद्मा विशेषगरी मधेसमा रहेको दाइजो प्रथा र बालविवाहजस्ता विषयलाई कार्यसूचीमा समावेश गरेकी यी कूप्रथा हटाउन लागि पर्छु भन्ने अठोट गरेकी उनी अब उपसभामुख बनेकी छन् ।  

जेन-जी आन्दोलनको जगमा राजनीतिक यात्रामा अघि बढेकी कान्छी सांसद ठाकुरको राजनीतिक यात्रा उज्वल बनोस् ।

प्रकाशित: २७ चैत्र २०८२ १८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App