नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा दोस्रो बैठक सम्पन्न भएको हो।
बैठकमा सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ गरेका थिए। रिपोर्टिङ सुनेपछि संयोजक प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी रणनीतिबारे आफ्नो धारणा राखेका थिए।
बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गरेको छ। साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, निर्वाचन आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी (कमान्डर) समेत तोकेको छ। जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउन अग्नि सापकोटाको नेतृत्वमा केन्द्रीय प्रचार समिति गठन गरिएको छ। समितिमा जगन्नाथ खतिवाडा र गोविन्द आचार्य सदस्य रहेका छन्। यो समितिले अन्य सरोकारवाला पक्षसँग आवश्यक परामर्शसहित प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय भएको छ।
बैठकले निर्वाचनका लागि अपिल र घोषणापत्र सम्पादन गरी छिट्टै प्रकाशन गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित: १९ माघ २०८२ १८:५२ सोमबार


-600x400.jpg)


