३ चैत्र २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

कोशीका तराई जिल्लामा रास्वपाको बर्चस्व, पहाडमा श्रम संस्कृतिको टक्कर

कोशी प्रदेशका मतगणना भइरहेका १४ जिल्लामध्ये तराईका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको एकलौटी बर्चस्व देखिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले मोरङको क्षेत्र नं. ४ र ६ मा जित निकालिसकेको छ भने अन्य १४ क्षेत्रमा पनि जित निकाल्ने तरखरमा देखिएको छ।

कोशी प्रदेशका तराई जिल्लाहरू झापा, मोरङ र सुनसरीका १५ वटा निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा रास्वपाका उम्मेदवारको दबदबा देखिएको छ। जनताको परिवर्तनको चाहना र रास्वपामा देखिएको असाधारण जनलहरका कारण कोशी प्रदेशका १६ स्थानमा रास्वपाका उम्मेदवार अगाडि देखिएका छन्।

त्यसमध्ये मोरङको क्षेत्र नं. ४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै रास्वपाका सन्तोष राजवंशी विजयी भए। यस्तै मोरङ क्षेत्र नं. ६ मा कांग्रेसकै प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै रास्वपाकी रुविना न्यौपाने विजयी भइन्।

रास्वपाका उम्मेदवारले अग्रता बनाएका स्थानहरूमा अन्य दलका उम्मेदवारहरू प्रतिस्पर्धामा निकै कमजोर देखिएका छन्। जितेका स्थानमा फराकिलो मतान्तर रहेको छ भने अग्रता बनाएका क्षेत्रहरूमा पनि निकटतम प्रतिस्पर्धी दलका उम्मेदवारहरूले टक्कर दिने अवस्था देखिँदैन।

रास्वपाले झापाका पाँचै निर्वाचन क्षेत्रमा ठूलो मतान्तरले अग्रता बनाएका छन्। मोरङका परिणाम सार्वजनिक हुन बाँकी चार क्षेत्रमा पनि मतान्तर निरन्तर बढाउँदै लगेका छन्। यस्तै सुनसरीको क्षेत्र नं. १ बाहेक तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार हावी भएका छन्। उदयपुरको क्षेत्र नं. १ र २ मा पनि रास्वपाकै उम्मेदवार अग्रस्थानमा रहेका छन्।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसका उम्मेदवारहरू कोशी प्रदेशका तराई क्षेत्रमा रास्वपाका उम्मेदवारसँगको प्रतिस्पर्धामा निकै कमजोर देखिएका छन्। कांग्रेसले हालसम्म कोशी प्रदेशको तेह्रथुममा एक सिट जितेको छ। तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई पराजित गर्दै नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्।

कांग्रेसले सोलुखुम्बु, ओखलढुंगा र पाँचथरमा अग्रता कायम गरिरहेको छ। सोलुखुम्बुमा कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले झिनो मतान्तरले अग्रता बनाएका छन्। उनलाई एमालेकी उम्मेदवार कल्पना राईले पछ्याइरहेकी छन्।

यस्तै ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेल अग्रस्थानमा छन्। उनलाई रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले पछ्याइरहेका छन्। पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले अग्रता लिएका छन्। उनलाई श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले पछ्याइरहेका छन्।

यस्तै कोशी प्रदेशमा नेकपा एमालेले तीन स्थानमा अग्रता बनाइरहेको छ। एमालेले इलाम–२, ताप्लेजुङ र धनकुटामा अग्रता बनाएको छ। इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अग्रस्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदीप राईले पछ्याइरहेका छन्।

यस्तै ताप्लेजुङमा एमालेका क्षितिज थेवे अगाडि छन्। उनलाई कांग्रेसका गजेन्द्रप्रसाद लिम्बूले पछ्याइरहेका छन्। धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई अग्रस्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछ्याइरहेका छन्।

नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका चार स्थानमा अग्रता लिइरहेको छ। श्रम संस्कृतिले सुनसरी–१, इलाम–१, खोटाङ र भोजपुरमा अग्रता बनाएको छ।

इलाम–१ मा श्रम संस्कृति पार्टीका विनोद लिम्बू अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले पछ्याइरहेका छन्। यस्तै खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईले अग्रता बनाइरहेका छन्। उनलाई नेपाली कांग्रेसका वीरकाजी राईले पछ्याइरहेका छन्।

भोजपुरमा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार शेरधन राईले पछ्याइरहेका छन्।

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले अग्रता बनाइरहेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले पछ्याइरहेकी छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App