नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु भएको छ।
प्रधान सेनापति अशोक राज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित समारोहबीच सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्।
नेपाली सेनाका खेलाडीको सीप तथा क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले वि.सं. २०६५ सालदेखि प्रधान सेनापति ट्रफी आयोजना हुँदै आएको छ।
यस वर्षको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको छ। प्रतियोगितामा नेपाली सेनाका पृतना तथा बाहिनीबाट १४ वटा टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताअन्तर्गत उद्घाटनकै दिन सम्पन्न ५ किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाकी प्यूठ निर्मला केसी विजेता बनिन्। पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढाले पहिलो स्थान हासिल गरे।
विजेता खेलाडीहरूलाई प्रधान सेनापति महारथी सिग्देलले पुरस्कार तथा सम्मान प्रदान गरे।
उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, निर्णायक मण्डल तथा विभिन्न विधामा सहभागी खेलाडीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: १२ आश्विन २०८३ १७:२३ सोमबार





