१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

‘गृहमन्त्रीको मान्छे’ भनेर रवाफ देखाउने ‘आशिष’ पक्राउ, रेकर्ड पल्टाउँदा फेला परे ६ पुराना मुद्दा

गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग पहुँच रहेको भन्दै अडियो संवादमार्फत भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल रहेका छन्।

सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा एवं सार्वजनिक मर्यादाविपरीत अडियो सार्वजनिक भएपछि त्यसको यथार्थ बुझ्न पुगेको प्रहरी टोलीमाथि नै मल्लले गालीगलौज र दुर्व्यवहार गरेका थिए। सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीको अपराध अभिलेख प्रणाली जाँच गर्दा मल्लविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगी, बैंकिङ कसुर तथा दूरसञ्चार ऐनसहित ६ वटा पुराना मुद्दा दर्ता रहेको खुलेको छ।

प्रहरी अभिलेखअनुसार उनीविरुद्ध २०७७ फागुन २६ गते ठगी सम्बन्धी कसुर र २०७९ जेठ १३ गते मुद्दा दर्ता नम्बर ५५१ मार्फत बैंकिङ कसूरमा मुद्दा दर्ता भएको थियो।

यस्तै, २०८३ साउन २६ गते दर्ता नम्बर ७२ रहेको दूरसञ्चार ऐनअन्तर्गतको मुद्दामा उनी फरार सूचीमा रहेका छन्।

यसबाहेक बाँके प्रहरीमै उनीविरुद्ध अभद्र व्यवहारका तीन वटा मुद्दा दर्ता छन्। प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित: १२ आश्विन २०८३ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App