१२ आश्विन २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

फाइल तस्बिर

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई मंसिर १ गतेदेखि काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने बताएकी छन्।  

मन्त्रालयले सोमबार आयोजना गरेको ऐन कार्यान्वयनको अवस्था तथा आगामी कार्ययोजनासम्बन्धी छलफलमा स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दै मन्त्री चौधरीले लामो समयदेखि कानुन बने पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा उपभोक्ताले अस्वस्थकर मासु उपभोग गर्नुपर्ने अवस्था रहेको बताइन्।

उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा ऐन लागू गरिनेछ। त्यसपछि माघ १ गतेदेखि अन्य नगरपालिकामा र २०८४ साउन १ गतेदेखि देशभर ऐन कार्यान्वयन गर्ने सरकारको तयारी छ।

मन्त्री चौधरीले ऐन कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। एकअर्कालाई दोष दिनुभन्दा तीनै तहका सरकारले सहकार्य गरेर उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

पशु वधशाला तथा मासु जाँच ऐन बनेको २८ वर्ष बितिसक्दा पनि हेटौँडा, सुर्खेत र बुटवलका केही क्षेत्रमा मात्र सीमित रूपमा कार्यान्वयन भएको मन्त्री चौधरीले जानकारी दिइन्। ती क्षेत्रमा समेत ऐन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले बताइन्।

काठमाडौं उपत्यकामा ऐन कार्यान्वयनका लागि वधस्थल निर्धारण, मासु सुपरिवेक्षक नियुक्ति तथा मासु बिक्रीसम्बन्धी इजाजतका लागि सूचना प्रकाशनलगायतका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। अनुगमन तथा निरीक्षणका लागि सम्बन्धित निकायको संयुक्त टोली गठन गर्ने तयारीसमेत गरिएको छ।

मन्त्री चौधरीले संविधानले सुनिश्चित गरेको उपभोक्ताको हक संरक्षण गर्न स्वस्थकर मासु उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन्। साथै, साना तथा परम्परागत मासु व्यवसायीको पेशा संरक्षण गर्दै उनीहरूलाई समूह, सहकारी वा सार्वजनिक कम्पनीमार्फत व्यवस्थित वधशाला तथा वधस्थलमा आबद्ध गराउनुपर्नेमा उनले जोड दिइन्।

ऐनलाई वर्तमान आवश्यकता र प्रविधिअनुकूल बनाउन संशोधन प्रक्रिया अघि बढाउने तयारी रहेको पनि मन्त्री चौधरीले बताइन्। कार्यान्वयनका क्रममा देखिने समस्या पहिचान गरी आवश्यक नीतिगत तथा व्यावहारिक सुधार गरिने उनको भनाइ छ।

प्रकाशित: १२ आश्विन २०८३ १८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App