राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको छ।
पार्टीबाट उम्मेदवार घोषित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. थापाले आफूले यो अवसरलाई ठूलो जिम्मेवारीका रूपमा लिएको र जनताको आशालाई न्याय दिने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो उम्मेदवारीलाई जवाफदेहिता र जिम्मेवारीको ठूलो भारको रूपमा महसुस गरेको बताए। आइतबार साँझ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि बोल्दै डा. थापाले भने, ‘अब म जनताको बीचमा गएर रास्वपाको डीएनएलाई कति माथि लिएर जान्छु भन्ने चुनौतीको रूपमा लिएको छु,’ उनले थपे।
आफ्नो चुनावी अभियान पार्टीको माथिल्लो तहदेखि वडा तहसम्मको सामूहिक प्रयासमा अघि बढ्ने बताउँदै उनले आफूसँगै प्रतिस्पर्धामा रहेका अन्य ८ जना आकांक्षीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए।
‘उहाँहरू (अन्य प्रतिस्पर्धी) बिना म पूर्ण छैन। उहाँहरू मिलेर बल्ल म पूर्ण हुन्छु,’ डा. थापाले भने, ‘हामी सबै मिलेर नै चुनाव जित्ने हो।’ आफ्नो विजय ९९ प्रतिशत सुनिश्चित रहेको दाबी गर्दै उनले भने, ‘यो मैले चाहेको होइन, जनताले चाहेको विजय हो।’
पार्टीले आफूलाई नै किन उम्मेदवार छनोट गर्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो ग्राउन्ड लेभलको सम्बन्ध र स्वास्थ्यकर्मीको रूपमा जनताको मन छुन सकेका कारणले आफूलाई केही फाइदा पुगेको हुनसक्ने अनुमान गरे।
उनले भने, ‘एक स्वास्थ्यकर्मीको हैसियतले मैले जनताको मन छोएको छु र जनतासँग नजिक हुने जुन मौका पाएको छु, त्यसले गर्दा सायद मलाई अलिकति प्लस प्वाइन्ट भयो जस्तो लाग्छ।’
पार्टी कार्यालयमा उम्मेदवारी घोषणा हुँदा डा. थापाका समर्थकहरूले नाराबाजी गर्दै खुसीयाली मनाएका थिए।
प्रकाशित: १५ भाद्र २०८२ २०:२२ आइतबार





