३ आश्विन २०८२ शुक्रबार
image/svg+xml ५:४८ पूर्वाह्न
राजनीति

सांसदद्वय श्रेष्ठ र ढकाल चढेको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवतरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठ र हरि ढकाल सवार बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ।

पार्टीको कार्यक्रमका लागि सुदूरपश्चिम जान लागेका सांसद श्रेष्ठ चढेको विमानले उडान भरेको केही समयमै समस्या देखिएपछि काठमाडौं फिर्ता भई सुरक्षित अवतरण गरेको हो।

सांसद श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै आकाशमै रहँदा प्राविधिक समस्या आएको बताएका छन्। उनले आकस्मिक अवतरणले केहीबेर तनाव सिर्जना भए पनि अन्ततः सुरक्षित अवतरण भएकोमा राहत व्यक्त गरे।

‘आकाशमै रहँदा प्राविधिक समस्याका कारण उडिरहेको जहाज आकस्मिक रूपमा फिर्ता काठमाडौँ अवतरण गर्नुपर्‍यो। एकछिन त तनाव भयो। तर अन्ततः सुरक्षित अवतरण भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सफल र सुरक्षित अवतरणका लागि सांसद श्रेष्ठले बुद्ध एयरको उडान टोलीप्रति आभार प्रकट गर्दै धन्यवाद समेत दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले घटनाको पुष्टि गरेको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फिर्ता भई सुरक्षित अवतरण गरेको जानकारी दिए।

सांसद श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान र कार्यदिशालाई अघि बढाउने जिम्मेवारीअन्तर्गत सुदूरपश्चिम प्रदेश जान लागेका थिए। उनीसँगै पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा सांसद हरि ढकाल पनि सोही विमानमा रहेका थिए।

पछिल्लो समय नेपालको आन्तरिक उडानमा प्राविधिक समस्याका कारण जहाजहरू आकस्मिक अवतरण गर्नुपर्ने घटनाहरू दोहोरिइरहेका छन्।

प्रकाशित: ६ श्रावण २०८२ १९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App