१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बिमा र आधारभूत स्वास्थ्यमा जोड दिँदै स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य क्षेत्रमा सुधार नगरेसम्म नागरिकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महसुस गर्न नसक्ने बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाको देउराली प्राथमिक अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री पौडेलले जनताले अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार र प्रबन्ध मिलाउने प्रयास भइरहेको बताएका हुन्।

आधारभूत स्वास्थ्य उपचार पाउने नागरिकको संवैधानिक अधिकार रहेको जनाउँदै आधारभूत स्वास्थ्य केन्द्रमार्फत जनताले न्यूनतम स्वास्थ्य सेवाका लागि काम भइरहेको जानकारी दिए।

साउन १ गतेबाट मात्र ४८ वटा आधारभूत अस्पतालका नयाँ भवनहरू सञ्चालनमा आएको बताउँदै मन्त्री पौडेलले अहिलेसम्म आधारभूत स्वास्थ्य केन्द्रहरूमा गर्मीमा शीतल ताप्ने र जाडोमा घाम ताप्ने केन्द्र बनेको गुनासो गरे।

स्थानीय तह र प्रदेश सरकारहरूको ध्यान आधारभूत स्वास्थ्य केन्द्रमा केन्द्रित हुनुपर्ने बताउँदै पौडेलले त्यसलाई स्रोत साधन युक्त बनाउन सङ्घीय सरकारले पहल गर्दै आएको र अझ गर्ने दाबी गरे।

स्वास्थ्य र शिक्षा राज्यको दायित्व रहेको र त्यसको भार अरूलाई बोकाएर लोक कल्याणकारी राज्यको कल्पना गर्न नसकिने मन्त्री पौडेलले बताए।

‘स्वास्थ्य उपचार नागरिक जीवनको आधारभूत आवश्यकता हो। जसको हरेक दिन जसो महत्त्व हुन्छ। त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो, ’मन्त्री पौडेलले भने, ‘यसैले स्वास्थ्यमा सुधार नगरे नागरिकले गणतन्त्र आएको महसुस गर्ने छैनन्।’

स्वास्थ्य बिमालाई अझै व्यवस्थित गर्ने प्रयास भइरहेको जानकारी दिँदै पौडेलले बिमा बापत अस्पतालहरूले पाउनु पर्ने रकम भदौभित्र निकासा गर्ने गरी काम भइरहेको बताए।

स्वास्थ्यकै प्रसङ्गमा उनले बालबालिका र वृद्धाको स्वास्थ्य उपचारको भार राज्यले लिनुपर्ने बताउँदै मन्त्री पौडेल भने, ‘बालबालिकामा हुने डायबिटिज परीक्षण र उपचारका लागि सात वटै प्रदेशमा निःशुल्क गर्ने गरी हामीले काम अगाडि बढाइरहेका छौं।’

बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि डायबिटिज हुन्छ भन्ने मानसिकता समाजमा रहेको जनाउँदै मन्त्री पौडेलले बच्चाहरूलाई पनि यो रोग लाग्ने बताए।

मन्त्री पौडेलले आइतबार नै विजय विकास स्रोत केन्द्र नेपालको ४७औं स्थापना दिवसका अवसरमा गैँडाकोटमा आयोजित अर्को कार्यक्रममा विद्यालय तहमै स्वास्थ्य शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिए।

कुन अवस्थामा कस्तो रोग लग्छ भन्ने जानकारी नागरिकले रोग लागेपछि होइन पहिला नै जानकारी लिने गरी स्वास्थ्य शिक्षालाई जोड दिनुपर्ने तर्क गरे।

पछिल्लो समय समाजमा बालबालिका विषयमा थुप्रै समस्याहरू देखिएको जनाउँदै भने, ‘वृद्ध वृद्धा र बच्चाको सन्दर्भमा यसको भार राज्यले वहन गर्नुपर्ने हुन्छ। यस विषयमा विभिन्न संस्था बनाएर अन्यत्र जिम्मा लगाउन मिल्दैन।’

हुप्सेकोट गाउँपालिकाको देउराली प्राथमिक अस्पतालको नवनिर्मित भवन उद्घाटन र विजय विकास स्रोत केन्द्रको ४७औँ स्थापना दिवसका लागि आइतबार बिहान नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पुगेका पौडेल एक दर्जन कार्यक्रममा सहभागी भएर दिउँसो फेरि काठमाडौं फर्केका थिए।

प्रकाशित: ४ श्रावण २०८२ २०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App