नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले उखु किसानमाथि अन्याय गरेको भन्दै उनीहरुको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्।
सरकारले दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झारेपछि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत किसानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उखु उत्पादक महासंघको आयोजनामा जारी धर्ना कार्यक्रममा मंगलबार ऐक्यबद्धता जनाउन पुगेका श्रेष्ठले सरकारको निर्णय किसानविरोधी भएको टिप्पणी गरे।
‘हाम्रै सरकारले स्थापना गरेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानलाई आज अनावश्यक रूपमा ३५ रुपैयाँमा झार्ने काम भएको छ,’ उनले भने, ‘यो अन्यायको विरुद्धको संघर्षमा म र हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) तपाईंहरुसँगै छ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले किसानहरुले कहिले चिनी मिल मालिक र कहिले सरकारबाट पीडा भोग्नुपरेको अवस्था दुःखद रहेको बताए। उनले किसानलाई भाषणमा मात्रै प्राथमिकता दिने तर व्यवहारमा शोषण गर्ने प्रवृत्तिविरुद्ध आफ्नो पार्टी सधैं संघर्षरत रहेको स्पष्ट पारे।
‘तपाईंहरुले पाइराखेको अनुदान कटौती गरेर गरिएको अन्यायविरुद्ध संघर्ष गर्नुपर्ने जुन बाध्यात्मक स्थिति पैदा भयो, त्यो अत्यन्तै पीडादायी छ,’ श्रेष्ठले भने।
उनले किसानहरुको जायज मागलाई सरकारले तुरुन्त सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आन्दोलनलाई सफल पार्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
बजेट अभावको कारण देखाउँदै सरकारले अनुदान रकम घटाएपछि देशभरका उखु किसान आइतबारदेखि काठमाडौंमा प्रदर्शनरत छन्। उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन विभिन्न विपक्षी दलका नेताहरु माइतीघर पुग्ने क्रम जारी छ।
प्रकाशित: १० भाद्र २०८२ १५:४२ मंगलबार





