मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आज पाँच बजेसम्म दलहरूलाई दाबी पेश गर्न समय तोकेका छन्। तर सात दलीय गठबन्धनले बिहीबार दिनभर छलफल गरे पनि कुन दलको नेतृत्वमा सरकार बनाउने सहमति जुटाउन सकेको छैन।
नेकपा एमाले नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई शुक्रबारसम्म दाबी पेश गर्न समय दिएका थिए।
सात दलीय गठबन्धनका नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारको नेतृत्वमा दाबी गरेका छन्। मधेसवादी दलले लोसपाका जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउन चाहेका छन् भने नेपाली कांग्रेस आफ्नो अडान नछाड्ने भनेपछि सहमति जुट्न नसकेको बिहीबार छलफलमा सहभागी एक सांसदले बताए।
ती सांसदका अनुसार एमाले संसदीय दलका नेताले जुन दलको नेतृत्वमा सरकार बने पनि आफ्नो समर्थन रहने बताएपछि सात दल एकढिक्का रहेको सन्देश दिन मुख्यमन्त्रीमा सहमति जुटिसकेको प्रतिक्रिया दिएका थिए। तर सात दलीय गठबन्धनमा मुख्यमन्त्रीको नाम टुंगो नलागेको उनले बताए।
नेपाली कांग्रेसका कृष्णप्रसाद यादव वा लोसपा जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने आज सात दलमा पुनः छलफल हुनेछ। आज पाँच बजेसम्म ती दलहरूले दाबी पेश नगरे ठूलो दलका हैसियतले पुनः एमालेले नेतृत्व गर्नेछ।
प्रकाशित: १९ मंसिर २०८२ १०:४९ शुक्रबार





