नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच 'भद्र' सहमति भएको छ। एक अर्काविरुद्ध विभिन्न आरोप-प्रत्यारोप र आक्षेप लगाउँदै आएका नेपाल-खनालबीच अब त्यस्ता कार्य नगर्ने भद्र सहमति भएको हो।
सोमबार (हिजो) बिहान केन्द्रीय कार्यालय, आलोकनगरमा नेपाल, खनालसहित नेताहरूका बीचमा छलफल भएको थियो। त्यस क्रममा उनीहरूका बीचमा भद्र सहमति भएको नेता दामोदर अर्यालले बताए।
यसअघि नेपालले खनाललाई पार्टी छोड्दा पनि हुने भन्ने आशयले बोलेका थिए भने खनालले पार्टी गठनको चार वर्षसम्म पनि औचित्य पुष्टि हुन नसकेको भन्दै नेपालले ऐनामा अनुहार हेर्न जवाफ दिएका थिए। तर, अब यी आरोप-प्रत्यारोप यहीँ रोकिने नेता अर्यालले बताए।
खनालसहितका नेताहरूले नेपाल अध्यक्ष पदबाट हट्नुपर्ने प्रस्ताव गर्दै आएका छन्। पतञ्जली जग्गा प्रकरणमा मुछिएपछि यो माग पार्टीभित्र बढेको छ। यसैबीच खनाल र नेपालका बीचमा आरोप प्रत्यारोप सुरु भएको थियो।
प्रकाशित: २७ श्रावण २०८२ १२:१८ मंगलबार





