१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २३:५१ अपराह्न
राजनीति

माधव र झलनाथ एकले अर्कालाई पालैपालो एमाले पठाउँछन् !

चार वर्ष अघिसम्म नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीको पेलान सहेर बसेका तत्कालीन वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी गठन गरे— नेकपा (एकीकृत समाजवादी)। ओलीलाई बालुवाको संज्ञा दिँदै 'बालुवा पेलेर तेल ननिस्किने' निष्कर्ष निकालेका उनीहरूले एकीकृत समाजवादी गठन त गरे तर, विभाजनको औचित्य पुष्टि गर्न खास रूपमा सकेनन्। यतिसम्म कि पछिल्लो संसदीय निर्वाचनमा पार्टीले तीन प्रतिशतको थ्रेसहोल्डसमेत कट्न सकेन।

अर्कोतिर, कतिपय नेताहरू पुरानै घरतर्फ फर्किए। एमालेबाट विभाजन हुँदा एकीकृत समाजवादी जत्रो थियो, अहिले त्यो आकार झन्‌झन् घट्दैछ। गठन हुँदै गर्दा नेपालको कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण गर्ने हाँक गरेको एकीकृत समाजवादी यहाँसम्म आइपुग्दा आफैँभित्रको समस्याले गाँजिएको छ। अपेक्षित सङ्गठन निर्माण गर्न नसक्दा नेताहरूका बीच टकराब पर्न थालेका छन्। त्यसमा पनि अहिले अध्यक्ष माधव र सम्मानित नेता झलनाथबीचको टकराब उत्कर्षमा पुगेको छ।

माधव-झलनाथले सार्वजनिक रूपमै एकले अर्कालाई गाली, आरोप-प्रत्यारोप गर्न थालेका छन्। शुक्रबार (आज) मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माधवले झलनाथलाई 'एमालेमा फर्किए हुन्छ' भन्ने आशयको बोले। 'पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टीको हितको रक्षा गर्नका लागि, पार्टीको अनुशासनको पालना गर्नका लागि, पार्टीको निर्णयको परिपालना गर्नका लागि, विरुद्धमा होइन। मिडियामा जाने, पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने- विद्रोहको औचित्य छैन भन्ने, किन आउनुपर्‍यो त विद्रोह नै ठीक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसेको भए भइहाल्थ्यो नि,' नेपालले भनेका छन्।

माधवको यस्तो अभिव्यक्तिको झलनाथले पनि जवाफ दिएका छन्। उनले माधवलाई नै एमाले पठाएका छन्। सँगैमा उनले विद्रोह गरेको चार वर्ष भइसक्दा पनि पार्टीले केही गर्न नसकेको बताएका छन्। 'हामीले विद्रोह गरेको चार वर्ष भइसक्यो, महाधिवेशन भएको १३ महिना भइसक्यो, यो अवधिमा समेत न वैज्ञानिक समाजवादको कार्यक्रम प्रकाशित भएको छ, न विद्रोहको पुष्टि गर्ने कुरामा गहन ढंगले नै कदम चालिएको छ। बरु माधव कमरेडले पटकपटक भन्ने गर्नु हुन्छ- बहुदलीय जनवाद त छोड्नै सकिँदैन, बहुदलीय जनवाद बिना त अगाडि बढ्नै सक्दैनौँ,' उनले भनेका छन्, 'बहुदलीय जवादको हेडक्वार्टर त एमाले नै हो नि।'

उनले थपेका छन्, 'अहिले बहुदलीय जनवादको मुख्य गढ भनेकै एमाले हो । बहुदलीय जनवाद नै भन्नुहुन्छ भने पनि यो त सानो बहुदलीय जनवाद हो। योभन्दा यत्रो ठूलो हेडक्वार्टरै जस्तो बहुदलीय जनवाद छ। बरु माधव कमरेडले आफै उतै गए राम्रो हुँदैन र ? उहाँले विचार गरे हुन्थ्यो नि।’

यो पनि पढ्नुहोस्

झलनाथसँगको टकराबका बीच माधवले भने: केपी ओलीजीको सेवा गरेर बसेको भए भइहाल्थ्यो नि

 

प्रकाशित: २३ श्रावण २०८२ २१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App