२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ४:५२ पूर्वाह्न
राजनीति

झलनाथसँगको टकराबका बीच माधवले भने: केपी ओलीजीको सेवा गरेर बसेको भए भइहाल्थ्यो नि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता-कार्यकर्ताहरूलाई पार्टीको पक्षमा माहोल बनाउन निर्देशन दिएका छन्। शुक्रबार (आज) काठमाडौंमा आयोजित पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो निर्देशन दिएका हुन्।

तर, पार्टीभित्र पार्टीकै बदख्वाइँ गर्नेहरू देखिएको उनले बताए। नेपालले त्यस्ता नेताहरूलाई 'विद्रोह ठीक नलागेको भए किन आएको त ?' भनेर प्रश्नसमेत गरेका छन्। 'पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टीको हितको रक्षा गर्नका लागि, पार्टीको अनुशासनको पालना गर्नका लागि, पार्टीको निर्णयको परिपालना गर्नका लागि, विरुद्धमा होइन। मिडियामा जाने, पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने- विद्रोहको औचित्य छैन भन्ने, किन आउनुपर्‍यो त विद्रोह नै ठीक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसेको भए भइहाल्थ्यो नि,' नेपालले भनेका छन्।

उनले आफूहरूले गरेको विद्रोह सही भएको जिकिरसमेत गरे। 'हामीले ठीक गर्‍यौँ, आँट गर्‍यौँ, दृढताका साथ पहल गर्‍यौँ र पहिलो गाँसमा नै ढुङ्गो होइन, त्यसलाई के भन्छन्, ढुङ्गाको सट्टामा ? सुनको सिक्का पायौँ। संविधान मास्ने काम भइराथ्यो, संविधान उल्लङ्घन गर्ने काम भइराख्थ्यो, गलत परम्परा बसाल्ने काम भइराथ्यो, त्यसको विरुद्धमा हामीले विद्रोह गर्‍यौँ। खुलेआम हामी सडकमा आयौँ, अदालतमा पनि गयौँ, मुद्दा पनि दियौँ, राजनीतिक लडाइँ पनि लड्यौँ, कानूनी लडाइँ पनि लड्यौँ। राजनीतिक लडाइँमा पनि जित्यौँ, कानूनी लडाइँमा पनि जित्यौँ,' उनले भनेका छन्।

अहिले अध्यक्ष नेपालको पार्टीकै सम्मानित नेता झलनाथ खनालसँग टकराब चलिरहेको छ। यही पृष्ठभूमिमा उनले यस्तो अभिव्यक्ति दिँदा उनले खनाललाई नै भनेको लख काटिँदैछ। त्यसो त पार्टीभित्र रामकुमारी झाँक्रीलगायतका नेताहरू पनि नेतृत्वसँग खुसी छैनन्। पछिल्लो निर्वाचनमा राष्ट्रिय दलसमेत नबनेको एकीकृत समाजवादीका कतिपय नेताहरूले पूर्वदल नेकपा (एमाले) सँग सम्पर्क बढाएको बताइन्छ। 

प्रकाशित: २३ श्रावण २०८२ १७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App