दुई प्रदेशको साझा विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकार समन्वयकारी भूमिकामा प्रतिबद्ध देखिएका छन्।
मूलतः दुई प्रदेशको सीमा साँधमा हुने विकासे आयोजना तथा पर्यटन विकासका लागि दुई प्रदेश सरकार सहकार्य गर्न तयार छन्। उनीहरूले यस्ता खालका योजनाहरूको पहिचान गरि साझा विकास गर्ने लक्ष्य लिएका छन्।
साझा विकासको लक्ष्य सहित समन्वय तथा सहकार्यमा प्रतिबद्ध यी दुई प्रदेशले सोमबार दोस्रो पटक समन्वयात्मक बैठक बसेर विकासे योजना साझा गरेका हुन्।
स्याङ्जाको गल्याङमा दुई प्रदेशका मुख्यमन्त्री, तथा मन्त्रीहरू सहभागी उक्त बैठकमा, पहिलो बैठकमा साझा गरिएका योजना कार्यान्वयनको समीक्षा गर्दै तीन महिना भित्र कार्ययोजना बनाउन सहमति भएको छ। यी दुई प्रदेश सरकारको पहिलो बैठक २०८१ माघ ३० मा गते पाल्पाको रानी महलमा बसेको थियो।
गण्डकी प्रदेशमा बसेको दोस्रो समन्वयात्मक बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिविद्धताको विवरण तयार गर्ने र बाँकी विषयलाई प्राथमिकता दिई कार्यान्वयनको व्यवस्था मिलाउन प्रदेश मातहतका निकायलाई निर्देशन दिने तथा नेपाल सरकारसँग नियमित समन्वय गर्ने कार्य प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने निर्णय भएको छ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरेको निर्णयमा दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ‘दामोदरकुण्ड कृष्णागण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।
यसैगरी, दुवै प्रदेशका आवधिक योजनामा प्रदेशको समुन्नतिका लागि प्रस्तावित रूपान्तरणकारी कार्यक्रम तथा आयोजना (अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यक्रम) कार्यान्वयन गर्न दुवै प्रदेशका सरकारको समन्वयमा कार्यान्वयन खाका तयार गर्न विषयगत मन्त्रालयलाई निर्देशन दिने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि दुवै प्रदेशका योजना आयोगको समन्वयमा संयुक्त रुपमा कार्यान्वयन गर्न सकिने कार्यक्रम पहिचान गरी आगामी पुस मसान्त भित्र दुवै प्रदेश सरकारमा पेश गर्ने, आगामी असोज २१ देखि कार्तिक १९ गते सम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने। स्थानीय स्तरमा सहजीकरणका लागि आ–आफ्नो प्रदेशका स्थानीय तहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुरोध गर्ने साझा निर्णय लुम्बिनी र गण्डाकीले गरेका छन्।
विकास व्यवस्थापन तथा सेवा प्रवाहमा एक अर्काका सिकाइ तथा असल अभ्यासहरूको अनुभव आदान प्रदान गर्न प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने, प्रादेशिक विकासका लागि प्रदेशको जिम्मेवारी, भूमिका तथा अधिकारलाई ध्यानमा राखी यथासम्भव कानुनी तथा नीतिगत एकरूपता कायम गर्दै जाने, दुवै प्रदेशका प्रमुख तीर्थस्थल वा पर्यटकीय स्थल जोड्ने पदमार्गको पहिचान तथा निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार पार्न, प्रदेशका सम्बन्धित निकायलाई निर्देशन दिने साझा निर्णय पनि यी दुई प्रदेशका बिचमा भएको छ।
‘दुई प्रदेशका बिचमा विकासका लागि साझा एजेण्डा बनाएर अघि बढ्ने प्रयत्न भएको छ, यसले दुवै प्रदेशको विकासमा साझा योगदान रहन पुग्छ,’ बैठकमा सहभागी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने ‘मूलतः दुई प्रदेशका बिचमा अझ बढी सहकार्यको वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले समन्वयात्मक बैठक आयोजना गरिएको हो।’
उनले दुई प्रदेशका साझा योजनामा प्रमुख रुपमा पर्यटन विकास रहेको समेत बताए। पर्यटकीय गन्व्यहरुलाई साझा योजनाका रुपमा तय गरेर पर्यटन विकास गर्ने लक्ष्यमा दुवै प्रदेश सरकार रहेको मन्त्री न्यौपानेले जानकारी दिए।
बैठकमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्णय कार्यान्वयनका लागि दुवै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएको र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेको जानकारी दिएका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सीमा जोडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकार बिचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए।
प्रकाशित: १६ भाद्र २०८२ २०:४२ सोमबार





