नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य सुरु गर्नुपर्नेमा जोड दिएका छन्। उनले सहकार्यमा अनावश्यक ढिलाइ गरिए देशले गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
एमालेका दिवंगत महासचिव मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गरे। उनका अनुसार भारतमा कम्युनिष्ट शक्तिलाई कमजोर बनाइएको चर्चा हुँदै आएको सन्दर्भ उल्लेख गर्दै नेपालमा पनि त्यस्तै प्रवृत्ति सक्रिय रहेको संकेत देखिएको छ।
उनले पछिल्ला राजनीतिक घटनाक्रमलाई त्यसैको परिणामका रूपमा व्याख्या गर्दै राष्ट्रिय स्वाधीनता, निरंकुशता र फासिवादी प्रवृत्तिको विरोध तथा वैदेशिक दबाबविरुद्ध वामपन्थी र देशभक्त शक्तिहरू छिटोभन्दा छिटो साझा मोर्चामा उभिनुपर्ने धारणा राखे।
यद्यपि, प्रचण्डले तत्काल पार्टी एकताको प्रस्ताव नराखेको स्पष्ट पारे। उनले अहिलेको आवश्यकता औपचारिक एकताभन्दा पनि सहकार्य भएको उल्लेख गर्दै संसद्, सडक र निर्वाचनजस्ता राजनीतिक क्षेत्रमा साझा रूपमा काम गर्न सकिने बताए।
उनले सहकार्य गर्न सकिने ठाउँमा तत्काल कदम चाल्नुपर्ने र त्यसमा ढिलाइ गर्नु दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्दै समयमै राजनीतिक समझदारी निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १४ असार २०८३ १६:२० आइतबार





