१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाका राजदूतबीच द्विपक्षीय छलफल

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्टले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी, सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण तथा संघीयताको कार्यान्वयनलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

भेटका क्रममा राजदूत अन्स्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य गर्न सकिने क्षेत्रबारे चासो व्यक्त गरे। लोकतन्त्रको आधारभूत मूल्यका रूपमा अभिव्यक्ति र विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य भए पनि पछिल्लो समय बढ्दो गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार ९डिसइन्फर्मेसन० चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनले बताए। 

अन्स्टले अष्ट्रेलियाले नेपालमा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यसलाई थप संस्थागत बनाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे। 

सञ्चारमन्त्री तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे। 

उनले अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिन तथा थप नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउने गरी छात्रवृत्तिको दायरा विस्तार गर्न आग्रह गरे। 

तिमिल्सिनाले नेपाल सरकारले हुलाक सेवाको आधुनिकीकरण र सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा अष्ट्रेलियाको अनुभव र सफल अभ्यासबाट नेपालले सिक्न चाहेको बताए। अष्ट्रेलियाको आधुनिक, प्रभावकारी र प्रविधिमैत्री हुलाक प्रणालीका अनुभव आदानप्रदान गर्न तथा नेपालमा त्यस्ता अभ्यास लागू गर्न प्राविधिक सहयोग उपलब्ध गराउन पनि उनले आग्रह गरे। 

उनले सरकारले ‘डिजिटल नेपाल’ निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणका क्षेत्रमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षित रहेको बताए। 

तिमिल्सिनाले नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए। स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भए पनि पत्रकारिता जिम्मेवार, उत्तरदायी, तथ्यपरक र व्यावसायिक हुनुपर्नेमा सरकारको जोड रहेको उनले बताए। पत्रकारको क्षमता अभिवृद्धि, नयाँ प्रविधिको प्रयोग, डिजिटल पत्रकारिता तथा तथ्य परीक्षण ९फ्याक्ट–चेकिङ० सम्बन्धी सीप विकासमा सरकारले काम गरिरहेको पनि उनले जानकारी दिए। 

भेटमा नेपाल र अष्ट्रेलियाबीच शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट जनस्तरको सम्बन्ध थप सुदृढ बन्दै गएको विषयमा पनि छलफल भएको थियो। सञ्चारमन्त्री तिमिल्सिनाले आगामी दिनमा यी क्षेत्रको सहकार्यलाई अझ विस्तार गर्ने नेपालको चाहना रहेको बताए। 

प्रकाशित: १७ असार २०८३ १७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App