२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रचण्डको आत्मसमीक्षा: सत्ता र पदमुखी राजनीतिमा अल्झिनु गल्ती भयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व रणनीतिक लक्ष्यबाट विचलित हुँदै पद, पैसा र सत्तामुखी राजनीतिमा केन्द्रित भएको स्वीकार गरेका छन्।

पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया र संविधान निर्माणलाई ऐतिहासिक उपलब्धि बताए पनि त्यसपछिको राजनीतिक यात्रामा रणनीतिक सोच कमजोर बनेको टिप्पणी गरे।

उनले भने, ‘शान्ति सम्झौता र संविधान निर्माण गरेर गल्ती भएन। तर, हामीले रणनीति छोड्यौँ, कार्यनीतिलाई नै रणनीति मान्न थाल्यौँ। चुनाव जित्ने, सरकारमा जाने, मन्त्री हुने र प्रधानमन्त्री हुने कुरामै सीमित भयौँ।’

प्रचण्डले संविधान जारी भएपछि पार्टी नेतृत्व तात्कालिक स्वार्थ र सत्ता केन्द्रित गतिविधिमा अल्झिएको बताए। उनका अनुसार जनताको अधिकारका लागि हुने प्रतिस्पर्धा क्रमशः पद, सुविधा र आर्थिक लाभतर्फ मोडियो।

उनले भने, ‘हिजो हामी जनताको अधिकारका लागि तँछाडमछाड गर्थ्यौँ, पछि पद, सुविधा र पैसा प्राप्तिका लागि तँछाडमछाड गर्न थाल्यौँ। नेतृत्वकै कमजोरीका कारण कार्यकर्तामा पनि त्यही प्रवृत्ति फैलियो। गल्ती माथिबाटै भयो। नेतृत्व पटक–पटक प्रधानमन्त्री बन्न कहिले कांग्रेस, कहिले एमाले र कहिलेकाहीँ अन्य दलसँग मिल्यो। त्यसको असर तलसम्म पुग्यो।’

उनले पार्टीभित्र समाजवादी मूल्य कमजोर हुँदै गएको र व्यक्तिवाद, स्वार्थ तथा अवसरवाद हाबी भएको स्वीकार गरे। समाजवादको कुरा गरिए पनि व्यवहारमा पुँजीवादी, व्यक्तिवादी र स्वार्थकेन्द्रित अभ्यास बढेको उनको भनाइ थियो।

प्रचण्डले जनताले कम्युनिस्ट आन्दोलनबाट ठूलो परिवर्तनको अपेक्षा गरे पनि व्यवहारले त्यो विश्वास कमजोर बनाएको बताए।

उनले भने, ‘जनताले हामीलाई पहिला कम्युनिष्टबाट ठूलै चिज प्राप्त हुन्छ भन्ने सोचेका थिए। तर पछि हामीलाई कांग्रेस, एमालेभन्दा अझ बढी पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्ने रूपमा देखे।’

 

प्रकाशित: १७ असार २०८३ १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App