उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास र त्यसपछिको अन्योलका कारण आफ्नो पार्टी १२ दिनसम्म ‘कोमा’ मा गएको बताएका छन्।
पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी गठन भएको छोटो समयमै ठूलो धक्का व्यहोर्नुपरेको उल्लेख गरे।
उनले भने, ‘हाम्रो पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन। तर, बीचमा हामी १२ दिन कोमामा गयौं। १२ दिनको कोमाका कारण हामीलाई धेरै घाटा पनि भयो।’
घिसिङले १२ दिनको शून्यतापछि पार्टी पुनः तन्दुरुस्त भएर फर्किएको दाबी गर्दै अब देशको नेतृत्व गर्न सक्षम रहेको बताए।
‘त्यो कोमाबाट हामी तन्दुरुस्त भएर आएका छौं, अब उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्न अगाडि बढ्छ,’ उनले भने।
उनले पार्टीको चुनाव चिह्न ‘चिम’ अनन्तकालसम्म बलिरहने जिकिर गरे। साथै, उनले अब उप्रान्त आफ्नो पार्टी कुनै पनि दलसँग विलय नहुने स्पष्ट पारे।
‘अब कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी अरु पार्टीसँग मिसिने वा विलय हुन दिने छैनौं,’ घिसिङले प्रतिबद्धता जनाउँदै भने, ‘अरु पार्टी हामीसँग मिसिन आउन सक्छन्, तर यो पार्टी अब कतै मिसिन जाँदैन।’
केही समयअघि रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता भएपनि पछि अन्तिम समयमा आएर एकता प्रक्रिया भंग भएको थियो।
सोही सन्दर्भलाई इङ्गित गर्दै घिसिङले पार्टी कोमामा पुगेको टिप्पणी गरेका हुन्।
प्रकाशित: १३ माघ २०८२ १६:५६ मंगलबार




-600x400.jpg)
