ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कार्यरत हुँदा कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका सहसचिव जीवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक पदबाट हटाएका छन्।
करिब डेढ महिनाअघि मात्र तत्कालीन ऊर्जा मन्त्री दिपक खड्काले मण्डललाई मन्त्रालयबाट सरुवा गरी विद्यत विभागको महानिर्देशक पदमा नियुक्ति गरेका थिए। त्यसअघि मण्डल ऊर्जा मन्त्रालयमा सहसचिव पदमा कार्यरत थिए। सहसचिव हुँदा उनले तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका थिए।
त्यतिबेला प्राधिकरण्को कार्यकारी निर्देशकबाट हटाउने उद्देश्यबाट घिसिङलाई शून्य अंक दिइएको थियो। गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरिएको थियो। उनको ठाउँमा हितेन्द्रदेवलाई नियुक्त गरिएको थियो।
ऊर्जा मन्त्रीमा नियुक्त बित्तिकै घिसिङले माथिल्लो तहका कर्मचारीहरू धमाधम चलाउन थालको छन्। हितेन्द्रलाई प्राधिकरणबाट हटाएर माथिल्लो तहका कर्मचारीहरूको सरुवा तथा खटन पटन सुरु गरेका छन्।
ऊर्जा मन्त्रालयमा नियुक्त भएको दश दिन नबित्दै घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइसकेका छन्। गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट सरुवा गरी जल तथा ऊर्जा आयोगमा लग्ने गरिएको थियो। यसैगरी शाक्यको ठाउँमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको थियो।
घिसिङले यति बेला ऊर्जा, जलस्रोत सिँचाइ मन्त्रालय बाहेक अन्य दुई वटा ठूला/ठूला मन्त्रालयमा भोतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हालेका छन्। तर अहिले उनले अहिलेसम्म भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कर्मचारी चलाएका छैनन्। घिसिङ ऊर्जा मन्त्रीमा नियुक्त भएपछि ऊर्जा मन्त्रालयले यसअघि भदौ १८ र २० गते गरेको कर्मचारीहरू सरुवा गर्ने निर्णय पनि रद्द गरिसकेका छन्।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार यसपटक मन्त्री घिसिङको निर्देशनमा मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट मण्डलबाट विद्युत विकास विभागको कार्यकारी निर्देशक पद हटाइएको छ। उनको ठाउँमा मनदेवी श्रेष्ठलाई नियुक्ति गरिएको छ। मनदेवी विभागको इतिहासमै पहिलो महिला महानिर्देशक हुन्। मण्डललाई भने विभागबाट मन्त्रालयमा सरुवा गरिएको छ।
प्रकाशित: ११ आश्विन २०८२ २०:०० शनिबार





