२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘राजा ज्ञानेन्द्र आफैँ हाँसेर निस्किए, हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चाहियो’

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी नेतृत्वको विलासी शैली र सुरक्षा मोहप्रति तीखो व्यंग्य गरेका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता त्याग्दा देखाएको सहजता र अहिलेका लोकतान्त्रिक नेताहरूको व्यवहारबीच तुलना गर्दै आलोचना गरेका हुन्।

उनले निरंकुश भनिएका राजाले समेत जनताको नासो फिर्ता गरेर सामान्य नागरिकझैँ दरबार छाडेको तर लोकतान्त्रिक नेताहरूलाई भने जोगाउन हेलिकप्टर चाहिने अवस्था आएको भन्दै कटाक्ष गरे।

‘राजा ज्ञानेन्द्रले हामीलाई दरबारमा बोलाएर नेताहरूलाई निसाली र श्रीपेच हस्तान्तरण गरे। ल तपाईंहरू राम्ररी बस्नुहोला भनेर आफैँ गाडी चलाएर हाँसेर गए,’ भण्डारीले प्रश्न गर्दै भने, ‘तर हाम्रा नेता ? हाम्रा नेतालाई जोगाउनलाई हेलिकप्टर चढाएर अमनचयनमा राख्नुपर्‍यो। त्यो पनि कुनै प्रजातन्त्र हो ?’

नेता भण्डारीले कसैको घर बनाइदिनु र कसैलाई गाडी चढ्ने अवसर दिनु मात्र प्रजातन्त्र नभएको जिकिर गरे। ‘कसैको घर बनाउनु, कसैको गाडी चढ्नु प्रजातन्त्र होइन,’ उनले भने, ‘त्यो प्रजातन्त्रलाई जगाउनु आज हाम्रो लक्ष्य हो।’

उनले ३४ वर्षको अभ्यासमा नेताहरूले आफ्ना वरिपरि घुम्ने र हजुरियाहरूलाई मात्र शासन सत्ता सुम्पेको आरोप लगाए।

‘आफ्नो वरिपरि आफ्ना कार्यकर्ता र घुम्नेहरूलाई सत्ता दिएर मुलुक बन्दो रहेनछ,’ उनले भने, ‘सही मान्छेमा अवसर गयो भने मुलुक बन्छ, असल मान्छे छैन भने जति पद दिए पनि मुलुक बन्दैन।’

प्रकाशित: २७ पुस २०८२ १७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App