राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद् सञ्चालन गर्नका लागि दुई विकल्प सुझाएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको भनेर दिएको अभिव्यक्ति फिर्ता नलिएको भन्दै संसदबाट नै प्रधानमन्त्रीको कुरामा सहमति जनाउनुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘यो सदनको अवरोध खुलाउने एउटै मात्रै उपाय छ, कि त यो सदनले हस्ताक्षरसहित नेपालले भारतको भूभाग मिचेको हो भनेर सदनले स्वीकार गर्नुपर्यो।’
उनले अगाडि भनिन्, ‘किनभने जुन किसिमको अवरोध, अवरोध, अवरोधको संज्ञा प्रतिपक्षीलाई दिइराखिएको छ। त्यसले गर्दा त यहीँ नै लाग्छ। कि यो सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जो यहाँ हुनुहुन्छ उहाँहरू त प्रधानमन्त्रीजीले दिनुभएको वक्तव्यमा सहमति जनाउनुहुन्छ। यदि त्यस्तो हो भने सत्तापक्षबाट हस्ताक्षर सुरु गरौँ। प्रधानमन्त्रीले भने अनुसार नेपालले भारतको भूमि मिचेको हो भन्ने कुरामा हामी प्रतिपक्षी पनि सही गरेर यो सदनको अवरोध खुलाउन हामी तयार हुन्छौँ।’
अर्को विकल्पमा उनले विपक्षीले निरन्तर राख्दै आएको माग पूरा हुनुपर्ने बताइन्। अब प्रधानमन्त्रीले आफूले बोलेको कुरा गलत थियो भनेर सच्याउनुपर्ने उनको भनाइ छ।
यसबिच प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले अवरोधछि सभामुख डिपी अर्यालले बुधबार बिहान ११ बजेगरी बैठक स्थगित गरेका हुन्।
प्रकाशित: २६ जेष्ठ २०८३ १४:०१ मंगलबार





