२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

नेपाली उसुको थाउलो टोलीले २०औं एसियाड तयारी चीनमा गर्ने

जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि नेपाली उसुको थाउलो टोलीले चीनमा प्रशिक्षण गर्ने भएको छ। 

उक्त टोलीको खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई छन् । एसियाली खेलकुदकै लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यत्तैबाट टोलीसंग समावेश हुने छिन् । प्रशिक्षकमा प्रकाश महर्जन छन् । नेपाली टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने कार्यक्रम छ। 

एसियाड टोलीबाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसंगै चीन जाने छन् । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणमा राख्न लागिएको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले जानकारी दिए।  

महासचिव ढुंगानाले तत्काललाई खेलाडी १ महिनाका लागि प्रशिक्षणमा रहने बताउदै थप १ महिनाका लागि पनि त्यही प्रशिक्षण गराउन पहल भइरहेको बताए। उनले एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताए। 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चीनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए । उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरे।  

कन्सुलर डोङले युनान विश्वविद्यालयले विगतमा पनि नेपालसंग खेल क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए।

प्रकाशित: २ श्रावण २०८३ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App