युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राज्य-ऊर्जा कम्पनीका प्रमुख सेर्ही कोरेत्स्कीलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
४८ वर्षीय कोरेत्स्कीले राजनीतिक पृष्ठभूमिका भन्दा पनि सफल व्यावसायिक व्यवस्थापकको रूपमा पहिचान बनाएका छन्। रूससँगको युद्धका कारण युक्रेनले यस वर्ष अहिलेसम्मकै कठिन जाडोको सामना गर्नुपर्ने अनुमानका बिच उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।
कोरेत्स्कीको प्रधानमन्त्रीत्वको सुरुवात सहज देखिएको छैन। सरकार पुनर्गठनका क्रममा लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडोरोभलाई हटाइएको भन्दै राजधानीमा प्रदर्शन भइरहेका छन्। यस्तो असहज परिस्थितिमा सत्ता सम्हालेका कोरेत्स्की युक्रेनमा रूसको पूर्ण आक्रमण सुरु भएयताका तेस्रो प्रधानमन्त्री हुन्।
संसदलाई सम्बोधन गर्दै कोरेत्स्कीले आफ्नो प्राथमिकता प्रष्ट पारे। उनले भने, ‘तत्कालका प्राथमिकताहरूमा युक्रेनको बिग्रिएको ऊर्जा प्रणालीको सुरक्षा, अर्थतन्त्रलाई स्थिर बनाउने, अन्तर्राष्ट्रिय सहायता प्रभावकारी रूपमा खर्च भएको सुनिश्चित गर्ने र घरेलु हतियार उत्पादन विस्तार गर्ने समावेश छन्।’
कोरेत्स्की विगतमा संकटको समयमा फसेका सरकारी संस्थानहरूलाई नाफामुखी बनाउने विज्ञका रूपमा चिनिन्छन्। सन् २०२२ मा ओलिगार्क इहोर कोलोमोइस्कीको नियन्त्रणबाट मुक्त गरी उक्रनाफ्टा र उक्रतात्नाफ्टाको नेतृत्व सम्हाल्दा उनले उल्लेख्य सफलता प्राप्त गरेका थिए। उनको नेतृत्वमा उक्त कम्पनीहरूले रेकर्ड नाफा कमाउनुका साथै सेनालाई इन्धन र ड्रोन सहयोग गर्न सफल भएका थिए।
त्यस्तै, नाफ्टोग्याजको नेतृत्वमा रहँदा उनले ग्यास भण्डारलाई रेकर्ड स्तरमा पुर्याएका थिए। उनले ग्यास भण्डारलाई १३ अर्ब घन मिटरभन्दा बढी बनाउनुका साथै करिब १ अर्ब डलर जुटाउन सफल भएका थिए।
राष्ट्रपति जेलेन्स्कीले कोरेत्स्कीलाई प्रधानमन्त्रीका लागि ‘सबैभन्दा तयार उम्मेदवार’ भन्दै उनको व्यावसायिक कौशलले युक्रेनको युद्धकालीन अर्थतन्त्र र ऊर्जा सुरक्षालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
अब कोरेत्स्कीका सामु व्यावसायिक क्षमताका अतिरिक्त जटिल राजनीतिक वातावरण र युद्धको मोर्चालाई कुशलतापूर्वक सञ्चालन गर्ने चुनौती रहेको छ। एजेन्सी
प्रकाशित: २ श्रावण २०८३ १२:०४ शनिबार





