कोसी प्रदेश पछिल्ला केही वर्षयता नेपालको आतिथ्य उद्योगको नयाँ केन्द्रका रूपमा उदाउँदै गएको छ। औद्योगिक तथा व्यापारिक गतिविधिका कारण परिचित यो प्रदेश अहिले अन्तर्राष्ट्रियस्तरका होटेल, लक्जरी रिसोर्ट, सम्मेलन केन्द्र र आधुनिक पर्यटन पूर्वाधारको विस्तारसँगै नयाँ पहिचान बनाउन सफल भइरहेको छ। विराटनगर, इटहरी, दमक, भेडेटार, मेचीनगरलगायत प्रमुख सहरमा अर्बौं रुपैयाँको निजी लगानी भित्रिन थालेपछि कोसी प्रदेश पर्यटन र आतिथ्य उद्योगको नयाँ ‘हटस्पट’ बन्दै गएको हो।
एक समय सामान्य व्यावसायिक बासस्थानमा सीमित रहेको होटेल उद्योग अहिले पाँचतारे होटेल, अन्तर्राष्ट्रिय ब्रान्ड, सम्मेलन केन्द्र, रिसोर्ट र लक्जरी आवाससम्म विस्तार भएको छ। व्यवसायीहरूका अनुसार यो परिवर्तनले प्रदेशको अर्थतन्त्र, रोजगारी, पर्यटन तथा सेवा क्षेत्रलाई नयाँ गति दिएको छ।
अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेश
इटहरीमा केही महिनाअघि अमेरिकी अन्तर्राष्ट्रिय होटेल चेन रमादा सञ्चालनमा आएको छ। इटहरीमै जन्मिएका व्यवसायी देशबन्धु बस्नेतले अन्तर्राष्ट्रिय होटेल सञ्चालनको अनुभवलाई आफ्नै जन्मभूमिमा विस्तार गर्दै यो होटेल स्थापना गरेका हुन्।
व्यवसायी बस्नेतले यसअघि काठमाडौंमा फ्रान्सेली होटेल समूह एक्कोरको मक्र्योर ब्रान्ड भित्र्याइसकेका छन्। अहिले इटहरीमा सञ्चालनमा आएको रमादा होटेलले पूर्वी नेपालमा अन्तर्राष्ट्रियस्तरको होटेल सेवाको नयाँ अध्याय सुरु गरेको मानिन्छ।
होटेलका निर्देशक श्याम लुइँटेलका अनुसार होटेलले स्थानीय उत्पादन, ताजा तथा अर्गानिक खाद्य परिकार, आधुनिक सुरक्षा प्रणाली र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवामा विशेष जोड दिएको छ। होटेलले रामधुनी, वराहक्षेत्र, धरान, भेडेटार, कोसीटप्पु, इलाम, कन्याम र श्रीअन्तुलगायत पर्यटकीय गन्तव्यसँग जोडिएका विशेष प्याकेज सञ्चालन गर्दै आएको छ।
व्यवसायीहरूका अनुसार स्तरीय होटेल खुलेसँगै इटहरीमा व्यापारिक बैठक, तालिम, विवाह, सम्मेलन तथा पर्यटकीय गतिविधि उल्लेखनीय रूपमा बढेका छन्।
सम्मेलन पर्यटनमा ठूलो लगानी
होटेल उद्योगमा बढ्दो सम्भावना देखेर इटहरीमै अर्को ठूलो परियोजना अघि बढाइएको छ। करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर अहिले निर्माणको तयारीमा छ।
पाँच बिघा क्षेत्रफलमा निर्माण हुने यो परियोजनामा चार हजार जनासम्म अट्ने सम्मेलन केन्द्र रहने जनाइएको छ। सञ्चालक मुनाली बस्नेत पाण्डेका अनुसार यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यावसायिक कार्यक्रम र ठूला समारोह आयोजना गर्न सक्ने क्षमता विकास गर्नेछ।
उनका अनुसार पूर्वी नेपालमा यति ठूलो सम्मेलन केन्द्र नहुँदा अधिकांश ठूला कार्यक्रम काठमाडौंमै केन्द्रित हुने गरेका छन्। नयाँ परियोजनाले त्यो अवस्था परिवर्तन गर्ने अपेक्षा गरिएको छ।
सोल्टीपछि बढ्यो पाँचतारे होटेल
इटहरीमा पहिलो पाँचतारे होटेलका रूपमा सञ्चालनमा आएको सोल्टी होटेलले पनि यस क्षेत्रको होटेल उद्योग विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
निर्माणको क्रममा २०७२ सालको भूकम्प र त्यसपछिको कोरोना महामारीले परियोजना प्रभावित भए पनि सञ्चालनमा आएपछि होटेलले पूर्वी नेपालमा उच्चस्तरीय आतिथ्य सेवाको नयाँ मापदण्ड स्थापित गरेको छ।
होटेलमा आधुनिक सम्मेलन हल, रेस्टुरेन्ट, स्पा, हेल्थ क्लब, स्विमिङ पुललगायत सुविधा उपलब्ध छन्। स्थानीय कृषि उत्पादन र स्थानीय जनशक्तिलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको होटेलले सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ।
भेडेटारमा ‘लक्जरी’ रिसोर्ट
कोसी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा पनि निजी क्षेत्रको लगानी तीव्र रूपमा बढिरहेको छ। हालै सञ्चालन भएको भिष्टा लग्जरियर्स रिसोर्ट एन्ड फन पार्क यसको उदाहरण हो।
झन्डै १० करोड रुपैयाँ लगानी गरी सञ्चालन गरिएको रिसोर्टलाई भविष्यमा पाँचतारे स्तरमा विस्तार गर्ने लक्ष्य राखिएको छ। सञ्चालक प्रदीप पोखरेलका अनुसार भविष्यमा लगानी ५० करोड रुपैयाँसम्म पुर्याइने योजना छ।
भेडेटार वर्षभरि नै नेपाली तथा भारतीय पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो। शीतल मौसम, सिम्सुवा झरना, पाथीभरा मन्दिर र आसपासका प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गर्ने भएकाले स्तरीय होटेलको माग बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।
झापादेखि मोरङसम्म विस्तार
कोसी प्रदेशमा होटेल विस्तारको क्रम इटहरी र भेडेटारमा मात्र सीमित छैन। झापाको मेचीनगरमा सन् २०२० देखि सञ्चालनमा आएको ‘मेची क्राउन’ पाँचतारे होटेलले बाङ्लादेश, भुटान तथा भारतीय पर्यटकलाई लक्षित गर्दै सेवा दिइरहेको छ। झन्डै डेढ सय करोड रुपैयाँ लगानीमा बनेको यो होटेल पूर्वी नेपालको सबैभन्दा ठूलो होटेल परियोजनामध्ये एक हो।
यसैगरी झापामा अश्वत्थ र किङ्सबेरी होटेल सञ्चालनमा छन् भने थप तीनवटा पाँचतारे होटेल निर्माणाधीन छन्।
प्रदेशको राजधानी विराटनगरमा पनि लेमन ट्री प्रिमियर सञ्चालन हुन थालिसकेको छ। नेपालीरिका होटेल पाँचतारे मान्यता प्राप्त गर्ने प्रक्रियामा छ भने सेन्चुरी होटेल र किङ्सबेरी होटेल सञ्चालनको तयारीमा छन्।
चारतारे स्तरका बिग होटेल र होटेल रत्नाले क्यासिनोसहित सेवा दिइरहेका छन्। व्यवसायीहरूका अनुसार होटेलसँगै मनोरञ्जन सेवा उपलब्ध हुँदा विदेशी पर्यटकको बसाइ लम्बिने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरेको छ।
२० अर्बभन्दा बढी लगानी
होटेल संघ मोरङका अध्यक्ष भविशकुमार श्रेष्ठका अनुसार मोरङ जिल्लामा मात्रै होटेल, रेस्टुरेन्ट तथा आतिथ्य क्षेत्रमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
जिल्लामा तीन सयभन्दा बढी व्यवस्थित होटेल तथा लज, चार सयभन्दा बढी साना होटेल तथा लज र दुई सयभन्दा बढी क्याफे तथा रेस्टुरेन्ट सञ्चालनमा छन्। पाँचतारेदेखि सामान्य पर्यटक लक्षित होटेलले सेवा दिइरहेका छन्।
यो क्षेत्रमा २५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। होटेल उद्योगको विस्तारले कृषि, यातायात, खाद्य उत्पादन, निर्माण, फर्निचर, सरसफाइ, सुरक्षा तथा सूचना प्रविधिसहितका दर्जनौं सहायक व्यवसायलाई समेत चलायमान बनाएको व्यवसायीहरूको भनाइ छ।
भारतीय पर्यटकमै मुख्य भरोसा
कोसी प्रदेशको होटेल उद्योग अहिले पनि मुख्यतः भारतीय पर्यटकमा निर्भर छ। खुला सीमा, धार्मिक गन्तव्य, सडक सञ्जाल र छोटो दूरीका कारण भारतबाट ठूलो संख्यामा पर्यटक आउने सम्भावना भए पनि नीतिगत तथा प्रशासनिक झन्झटले अपेक्षित लाभ लिन नसकिएको व्यवसायीहरूको गुनासो छ।
होटेल संघ मोरङका अध्यक्ष श्रेष्ठका अनुसार भारतीय पर्यटकले नेपाल प्रवेश गर्दा सवारी सञ्चालन, भन्सार प्रक्रिया, भारतीय मुद्रा प्रयोग तथा नगद सीमा लगायतका समस्याको सामना गर्नुपरेको छ।
उनका अनुसार भारतीय पर्यटकले ल्याउन पाउने नगद रकमको सीमा पुनरवलोकन गर्न सके पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्नेछ। अहिले धेरै भारतीय पर्यटक नेपाल आउन इच्छुक भए पनि सहज व्यवस्थाको अभावमा दार्जिलिङ, सिक्किमजस्ता भारतीय गन्तव्य रोज्ने गरेका छन्।
सरकारले नीति सुधार गर्नुपर्ने माग
होटेल तथा लज व्यवसायी संघ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष तेजबहादुर पुरी सरकारले भारतीय पर्यटक लक्षित विशेष पर्यटन नीति ल्याउनुपर्ने बताउँछन्।
उनका अनुसार कोसी प्रदेशमा झन्डै एक हजार ५०० होटेल तथा आवास व्यवसाय सञ्चालनमा छन्। निजी क्षेत्रले ठूलो लगानी गरिसकेको अवस्थामा सरकारले सहज आवागमन, पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय प्रचार तथा लगानीमैत्री नीति लागु गर्न सके प्रदेशको पर्यटन उद्योगले थप गति लिनेछ।
पर्यटकीय सम्भावनाले भरिएको प्रदेश
हिमाल, पहाड र तराई तीनै भूगोल समेटेको कोसी प्रदेश प्राकृतिक, धार्मिक र साहसिक पर्यटनको दृष्टिले नेपालकै सबैभन्दा सम्भावनायुक्त प्रदेशमध्ये एक हो।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजंघा, लोत्से र कुम्भकर्ण हिमाल यही प्रदेशमा छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, कोसीटप्पु वन्यजन्तु आरक्ष, बराहक्षेत्र, रामधुनी, पाथीभरा, भेडेटार, तालतलैया, कन्याम, श्रीअन्तु, अर्जुनधारा र केचनाकवलजस्ता पर्यटकीय गन्तव्यले बर्सेनि हजारौं स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरिरहेका छन्।
यिनै गन्तव्यलाई आधार बनाएर पछिल्लो समय होटेल उद्योगमा भएको तीव्र लगानीले कोसी प्रदेशलाई औद्योगिक केन्द्रबाट अन्तर्राष्ट्रिय स्तरको पर्यटन तथा सम्मेलन गन्तव्यमा रूपान्तरण गर्ने आधार तयार गरिरहेको छ।
निजी लगानीले देखाएको नयाँ दिशा
होटेल उद्योगमा भएको अर्बौं रुपैयाँको लगानीले निजी क्षेत्रको पर्यटनप्रतिको विश्वास झल्काएको छ। अब चुनौती भनेको यो लगानीलाई दिगो प्रतिफलमा रूपान्तरण गर्नु हो। त्यसका लागि पूर्वाधार विकाससँगै पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रचार, भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित सहज नीति र सरकारी सहकार्य अपरिहार्य देखिन्छ।
निजी क्षेत्रले होटेल, रिसोर्ट र सम्मेलन केन्द्र निर्माणमा तीव्र गति लिइरहेको वर्तमान अवस्थामा सरकारले नीतिगत सहजीकरण गर्न सके कोसी प्रदेश निकट भविष्यमै नेपालको प्रमुख आतिथ्य, सम्मेलन र पर्यटन केन्द्रका रूपमा स्थापित हुने आधार बलियो बन्दै गएको छ।
प्रकाशित: २ श्रावण २०८३ १२:०१ शनिबार





-600x400.jpg)