२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं-८: प्रतिस्पर्धामा चार उम्मेदवार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि चहलपहल बढेको छ। काठमाडौं–८ मा पनि उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तथा मतदाताको घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। निर्वाचन अधिकृत सम्झना खनालका अनुसार काठमाडौं महानगरपालिका वडा नं. १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिका वडा नं. ४ र ५ पर्ने यस क्षेत्रमा कुल मतदाता ५७ हजार ८११ छन्। जसमा महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ छन्।

यो क्षेत्रमा कुल उम्मेदवार २२ जना रहेको उनले जानकारी दिइन्। ‘काठमाडौं–८ मा मतदाता महिला बढी भए पनि उम्मेदवार पाँच जना मात्र छन्,’ निर्वाचन अधिकृत खनालले भनिन्।

 उम्मेदवारहरूको परिचयपत्र वितरण भइसकेको जानकारी उनले दिइन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ, नेपाली कांग्रेसकी सपना राजभण्डारी, नेकपा एमालेका राजेश शाक्य र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

रास्वपाका विराजभक्त श्रेष्ठको प्रचारप्रसारमा सघाउन वडा नं. १३ स्थित ताहाचालका बासिन्दाले एक कार्यक्रमका आयोजना नै गरे। श्रेष्ठ वडा नं. १३ निवासी हुन्। सहरी विकास, पूर्वाधार, यातायात सुधार, रोजगारी र युवा सशक्तीकरण मुख्यलाई अजेन्डा बनाएर आफू अघि बढेको बताउँदै श्रेष्ठले देश र जनताका चाहना अनुसार काम गर्ने विश्वास व्यक्त गरे। ‘अघिल्लो निर्वाचनमा पनि मलाई काठमाडौं–८ का बासिन्दाले विश्वास गरी अत्यधिक मत दिनुभयो र मैले मतको कदर गर्दै काम पनि गरें,’ ४४ वर्षीय विराजले नागरिकसँग भने, ‘भ्रष्टाचार र बेथितिविरुद्ध काम गरेर अघि बढेको छु। आगामी दिनमा पनि म यसैगरी लाग्ने र पारदर्शिता, जवाफदेहिताका साथ काम गर्नेछु।’

उनले यस पटक देशको माहोल फरक रहेको दाबी गरे। लोकतान्त्रिक पद्धतिमा आधारित रही जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासनलाई प्राथमिकतामा राख्दै सम्पदा, खुला क्षेत्र संरक्षण र सेवासुविधामा आम नागरिकको पहुँच पुर्‍याउनु मेरो मुख्य प्राथमिकता हो।’

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका ५२ वर्षीय सुमन सायमी यस पटक नेकपामा समाहित भएर यही क्षेत्रबाट चुनावी प्रतिस्र्धामा उत्रिएका छन्। उनले आफ्नो उम्मेदवारी राज्यविहीन बनेका जनतालाई राज्य संरक्षणको अनुभूति दिलाउन रहेको बताए। प्रोपोगान्डाले देश नचल्ने भएकाले आफूलाई राजनीतिक आधारको आवश्यकता परेकाले नेकपामा समावेश गराएको उनको भनाइ छ।

‘मेरा माग, मुद्दा र उद्देश्य नेकपासँग मिलेको पाएँ। सडकमा उठाउँदै आएको आवाजलाई नीतिगत रूपमा कार्यान्वयन गराउन ठाउँमा पुग्नु जरुरी रहेकाले नेकपाबाट उम्मेदवारी दिएको हुँ,’ सुमनले नागरिकसँग भने, ‘काठमाडौंका जनतामा राजनीतिक चेतनाको कमी छ। लहलहैमा लागेर हुँदैन। आधार र अस्तित्व भएका पुराना राजनीतिक दल नै चाहिन्छ। आधारहीन राजनीतिले देशमा ठुलो दुर्घटना निम्त्याउँछ। जेनजी आन्दोलनपछि देशको माहोल परिवर्तन भएको छ। देशलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने योगदान दिने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ।’

कांग्रेसकी सपना राजभण्डारी यस चुनावी प्रतिस्पर्धामा आफ्ना पति नविन्द्रराज जोशीले छाडेको विकासको अधुरो सपना पूरा गर्न निर्वाचनमा होमिएको बताइन्। वडा नं. १९ को यट्खा निवासी राजभण्डारी आफू यही क्षेत्रमा जन्मेहुर्केका कारण पनि यस क्षेत्रको रीतिरिवाज, कलासंस्कृतिको संरक्षण तथा विकासका योजनाहरू पूरा गराउन पनि निर्णायक तहमा पुग्नैपर्ने आवश्यकता उनले औंल्याए।

यतिखेर मतपरिणाम आफ्नो पक्षमा पार्न टोलछिमेकसँग भेटघाट, छलफल र अन्तक्र्रियामा व्यस्त रहेको उनले बताइन्। ‘जेनजी आन्दोलनपछि देशको अवस्था फेरिएको छ,’ राजभण्डारीले नागरिकसँग भनिन्, ‘जेनजी र अरू युवाका मर्म र भावना बुझेर पुराना दलका अग्रजहरूको अनुभवलाई सँगाालेर मात्र देशका लागि काम गर्दै जानेछु।’

५५ वर्षीया राजभण्डारीले थपिन्, ‘राजनीतिज्ञ नविन्द्रराज जोशी यही क्षेत्रका प्रिय हुनुहुन्थ्यो। श्रीमान्को संगतमा आफूले बुझेको राजनीति र यस क्षेत्रको कमीकमजोरीलाई आफ्नो शक्ति बनाएर अगाडि बढ्ने योजना छ। मैले आफ्नो प्रतिस्पर्धीहरूलाई पनि मजबुत देखेकी छु।’

यही क्षेत्रमा एमाले उम्मेदवार राजेश शाक्यले विश्वसम्पदा सूचीमा रहेको यस क्षेत्रको स्वयम्भूनाथ र हनुमानढोकालाई विश्वमै पर्यटकीय क्षेत्रका रूपमा विकास गरी देशका आर्थिक आयआर्जनको बलियो आधार बनाउन पनि आफूले क्षेत्र नं. ८ बाट उठेको बताए।

५८ वर्षीय शाक्य जेनजी युवाहरूको आवाज प्रतिनिधित्व गर्दै २०७४ सालमा माननीय भएर गरेको कामको अनुभवलाई पुनः एक पटक देशमा आर्थिक आधार बलियो बनाउन नीतिगत व्यवस्थाका लागि प्रतिस्पर्धामा उत्रिएको बताए। ‘होस सम्हालेदेखि राजनीतिमा लागेर २०३६ सालको विद्यार्थी आन्दोलनमा लाग्दै २०५४ सालमा वडा नं. १९ को वडाध्यक्ष भएर गरेको कामले मलाई राजनीतिमा अघि बढ्न थप प्रेरित गर्‍यो,’ राजेशले नागरिकसँग भने, ‘प्रत्यक्ष जनप्रतिनिधि भएर स्थानीयसँग मिलेर काम गरें। घरायसीदेखि सामाजिक समस्यासम्म समाधान गर्न सफल भएँ। समाजको विकास, जनताका पिरमर्काको समाधान, प्रशानिक सुविधा व्यवस्थापन गर्न सफल भएँ।’

२०७४ सालको संदसीय अभ्यासले पनि मलाई स्थानीय समस्या समाधान गर्दै स्थानीयवासीको दैनिक जीवन सहजताका लागि आयआर्जन बढाउन नीतिगत व्यवस्था गर्न मैले उम्मेदवारी दिएको हुँ।’

यस क्षेत्रमा अन्य उम्मेदवारहरू खगेश रञ्जितकार (आम जनता पार्टी), छत्रकुमार पाख्रिन (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल), दिनेश शाही (नेपाल जनता संरक्षण पार्टी), नवीन शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी), वन्दना श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी), मुक्तिनाथ शर्मा (राष्ट्रिय मुक्ति पार्टी नेपाल) र राजन खड्गी (उज्यालो नेपाल पार्टी) छन्। यसैगरी अन्य प्रतिस्पर्धीमा राजेन्द्र शाह (नेपाल कम्युनिस्ट पार्टी संयुक्त), रेशमबहादुर सुनार (संयुक्त नागरिक पार्टी), विजय डंगोल (नेपाल संघीय समाजवादी पार्टी), शिवसुन्दर कर्माचार्य (श्रम संस्कृति पार्टी), सरोजराज वैद्य (जनता समाजवादी पार्टी) र सलामसिंह लामा (नेपाल कम्युनिस्ट पार्टी माओवादी) छन्। स्वतन्त्र उम्मेदवारहरूमा सुनिता महर्जन, सुशीला नेपाली, विकास खड्गी, मुना न्यौपाने र तुलसा श्रेष्ठ महर्जन छन्।

प्रकाशित: १९ माघ २०८२ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App