काठमाडौं क्षेत्र नम्बर–४ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले पुस्तान्तरणलाई गलत अर्थमा नबुझ्न आग्रह गरेका छन्। धेरैले पुस्तान्तरणको कुरा गर्दा एकले अर्कोलाई विस्थापित गर्ने अर्थमा बुझ्ने गरेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।
सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै डा. भट्टराईले पुस्तान्तरण भनेको एक पुस्ताले अर्को पुस्तालाई विस्थापित गर्ने विषय नभई अनुभव र ऊर्जाको संगम भएको बताएका हुन्।
'अनुभवी पुस्ताको ज्ञान र युवाको जोसलाई निषेध गरेर होइन, एकीकृत गरेर मात्र हामीले देश सम्हाल्न सक्छौँ,' उनले भिडियोमा भनेका छन्।
उनले अनुभवी पुस्ताले बाटो देखाउने र युवाले त्यसमा गति दिने सहकार्य नै समाज विकासको सही मार्ग भएको आफ्नो स्पष्ट मान्यता रहेको बताए। 'मेरो स्पष्ट मान्यता छ: बाटो अनुभवीले देखाउने हो र त्यसमा गति युवाले दिने हो। यही सहकार्य नै समाज विकासको सही मार्ग हो,' उनले भने।
डा. भट्टराईले पुस्ताबिच सहकार्य र समझदारी आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि यही सोचका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित: १४ फाल्गुन २०८२ १०:०४ बिहीबार





