राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का गुल्मी–१ का उम्मेदवार सागर ढकालले डडेलधुरामा ४०–५० हजारको बियर मासु खाएको घटना एक ‘इन्सिडेन्ट’मात्रै भएको प्रतिक्रिया दिएका छन्। शनिवार पत्रकारले सोधेको प्रश्नमा सागरले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘डडेलधुराका धेरै युवाहरूले मलाई समर्थन गर्नुभएको थियो, माया गर्नुभएको थियो। त्यो साँझखेर जहाँ सुकै हुन्छ(सांकेतिक रूपमा रक्सी खाने)। नेपालभरिकै कुरा हो, साँझ आएर खानुहुन्छ,’ सागरले भने,‘त्यो एक सानो इन्सिडेन्ट भएको हो, त्यत्ति मात्रै एक्सप्लेन गरेको हो।’ आफूले गुल्मीका जनतालाई त्यसो नगरिदिनुहोला भन्ने सानो सन्देश मात्रै दिन खोजेको उनले बताए।
त्यसपछि पत्रकारले तपाईँले डडेलधुरा छाडेर गुल्मी आइसकेपछि बदनाम गर्नुभयो? भनेर प्रश्न गरेका थिए। जसको जवाफमा सागरले भने, ‘होइन क्या, मैले त्यसरी बदनाम गरेको होइन। म त माया गरेर डडेलधुरा गएको, सम्मान गर्न गएको।’ आफ्नो बोलेको पूरा भिडिओ नै नहेरी धारणा बनाएको उनले आरोप लगाए। ‘मैले गुल्मी जाँदा यता पनि त्यसो नगरौँ भनेको हो, अलिअलि राति जसले पनि गर्नुहुन्छ नि त(रक्सी खाने), त्यसो नगरौँ भनेको हो,’ सागरले थपे।
केही दिनअघि एक चुनावी कार्यक्रममा सागरले आफू डडेलधुरा जाँदा आफू बसेको होटेलमा आएर ४०–५० जना युवाले एक रातमा ४०–५० हजार बियर मासु खाइदिएको भनेर टिप्पणी गरेका थिए। सागर २०७९ को निर्वाचनमा डडेलधुराबाट चुनाव लडेका थिए।
सागरले यसो भनेपछि डडेलधुरा तथा सुदूरपश्चिमका मतदाताले सागरले जिल्ला र क्षेत्रको बदनाम गरेको भन्दै टीकाटिप्पणी गरिरहेका छन्।
प्रकाशित: १७ माघ २०८२ १७:२३ शनिबार




