सङ्घीय संसद्का दुई संयुक्त समितिमा राष्ट्रिय सभाले पनि सदस्यहरु मनोनीत गरेको छ।
सङ्घीय संसद् सचिवालय, कार्यव्यवस्था महाशाखा (राष्ट्रिय सभा)ले सोमबार विज्ञप्ति जारी गर्दै संसदीय सुनुवाइ समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रिय सभाका तर्फबाट ३-३ जना सांसदलाई मनोनयन गरिएको जानकारी दिएको हो।
उपसचिव अनन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुंगाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाललाई मनोनीत गरिएको उल्लेख छ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र डा.अञ्जान शाक्य मनोनीत भएका छन्।
प्रतिनिधि सभाले भने गत शुक्रबार नै दुवै समितिमा सदस्य मनोनीत गरेको थियो।
प्रकाशित: ३० चैत्र २०८२ १७:३४ सोमबार





