नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलमा लाग्ने व्यक्ति फराकिलो सोचका धनी हुने भन्दै तारिफ गरेका छन् ।
सञ्चारकर्मी तथा काव्यकार डा नवराज लम्सालको चौथो महाकाव्य कल्पको लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले सिर्जनात्मक सोचका साथ दलमा लाग्नुपर्ने बताए ।
दलमा लाग्नु नराम्रो र खराब भन्ने भास्य जबरजस्त देखिएको बताउँदै उनले समाजलाई फरक दृष्टिले हेर दलबद्ध हुनुपर्ने दावी गरे ।
उनले भने, ‘दलमा लाग्ने कुरा आफैँमा खराब होइन । फस्नु होइन । आफूलाई सिध्द्याउनु होइन ।’
उनले प्रश्नोत्तर शैलीमा भने, ‘दलमा लाग्नुको अर्थ के हो ? दलमा लाग्नुको अर्थ दलिनु होइन, दलमा लाग्नुको अर्थ दबिनु होइन, दलमा लाग्नुको अर्थ दलदलमा फस्नु होइन । दलमा लाग्नुको अर्थ प्रश्नको घाँटी निमोठ्नु होइन । दलमा लाग्नुको अर्थ श्वास फेर्न छोड्नु होइन ।’
उसो भए दलमा लाग्नुको अर्थ के हो भन्दै थापाले भने, ‘दलमा लाग्नुको अर्थ अरुलाई थप बाँच्न प्रेरित गर्नु हो । अझ फैलिनु हो । दलमा लाग्ने मान्छेको दलमा नलाग्ने मान्छेको भन्दा बढी दायित्व बोध हुन्छ । बढी सिर्जनात्मक हुन्छ । समाजलाई फरक दृष्टिले हेर्न सक्ने क्षमता विकास गरेको हुन्छ ।’
उनले थप भने, ‘हामीले खोजेको यसरी मान्छे दलमा लागोस कि दलले गर्दा आफू नमरोस् भन्ने हो । हाम्रो समस्या चाहिँ दलमा लागेपछि आफू दलदलमा फस्नु र अरुलाई फसाउनु चाहिँ समस्या हो ।’
नवराज लम्सालको राजनीतिक दल प्रतिको चेत र खेलेको भूमिकाको प्रशंशा गर्दै थापाले भने, ‘आदारणीय नवराज दाइले राजनीतिक चेतनालाई पूँजी बनाएर त्यसबाट आफ्नो आन्तरिक चक्षुलाई खोलेर समाजभित्रका कुरालाई हेरेर प्रश्न गर्ने प्रयास गर्नुभयो । यो प्रयासलाई सार्दुवाद । धन्यवाद ।।’
प्रकाशित: २० भाद्र २०८२ १७:३३ शुक्रबार





