राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछानेमाथि लागेको अभियोगको अन्तिम किनारा नलाग्दै पार्टी जिम्मेवारीमा फर्काउने तयारी गरेको छ। शुक्रवार उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि थुनामुक्त हुन लागेका सभापति लामिछानेलाई तत्कालै पार्टी जिम्मेवारीमा फर्काउने तयारी रास्वपाले गरेको छ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्तिमार्फत सोही कुराको संकेत गरेका छन्। विज्ञप्तिमा उनले अदालतको आदेशको सम्मान गर्दै आफ्नो पार्टी सदैव ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको’ उल्लेख गरेका छन्।
‘सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको शृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति ज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने ब्यहोरासमेत अवगत गराउँछौँ,’ अर्यालले विज्ञप्तिमा भनेका छन्।
उच्च अदालतले लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिए पनि उनीमाथि लागेका अभियोगमा सफाइ भने दिएको होइन। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले दिएको ‘बैंक ज्ञारेन्टीमा बाहिर बसेर’ मुद्दा प्रक्रियामा सहभागी हुने सुविधा मात्रै प्रदान गरेको हो।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुरमा विभिन्न अदालतहरूमा मुद्दा चलिरहेका छन्।
अभियोग जारी नै रहेका बेला यसअघि पनि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएका थिए। प्रहरीले पक्राउ गरेर अनुसन्धान सकेपछि कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका बेला उनी पार्टीको जिम्मेवारीमा फर्किएका थिए।
प्रकाशित: ४ पुस २०८२ १७:०६ शुक्रबार





