नेपाली कांग्रेस (विशेष महाधिवेशन पक्ष) का नवनिर्वाचित सभापति गगनकुमार थापाले आफूहरूले पार्टी नफुटाएको बरु विधानसम्मत रूपमा नेतृत्व मात्र परिवर्तन गरेको दाबी गरेका छन्।
बिहीबार निर्वाचन आयोगमा दलको विवरण अद्यावधिक गर्न पुगेका थापाले सञ्चारकर्मीहरूले सोधेको पार्टी विभाजन सम्बन्धी प्रश्नको प्रतिवाद गर्दै यस्तो बताएका हुन्।
उनले १४ औं महाधिवेशनकै प्रतिनिधिहरूले विशेष महाधिवेशनबाट आफूलाई चुनेको भन्दै आफ्नो नेतृत्वको वैधानिकतामाथि प्रश्न नउठाउन चेतावनी दिए।
आफ्नो नेतृत्वको आधिकारिकता पुष्टि गर्न थापाले १४ औं महाधिवेशनको दृष्टान्त पेस गरे।
उनले भने, ‘१४औं महाधिवेशनमा यही भृकुटीमण्डपको हल र यिनै महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति र मलाई महामन्त्री चुनेका थिए। आज तिनै प्रतिनिधिले सोही ठाउँमा भेला भएर विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनमार्फत मलाई सभापति चुनेका छन्।’
उनले हिजो देउवा चुनिँदा आधिकारिक हुने र आज आफू चुनिँदा कसरी अनाधिकारिक हुन्छ भन्दै प्रश्नसमेत गरे। ‘यो नेतृत्व चयनको नियमित र स्वभाविक प्रक्रिया हो, यसमा पार्टी फुटेको भन्ने प्रश्न नै आउँदैन,’ थापाले जिकिर गरे।
संस्थापन पक्षले आफूहरूलाई गरेको कारबाहीको पत्रबारे सोधिएको प्रश्नमा थापाले देउवा नेतृत्वको समितिले कारबाही गर्नै नसक्ने तर्क गरे।
विशेष महाधिवेशनको बन्द सत्र सुरु भएर कार्यविधि पारित हुनासाथ देउवा नेतृत्वको केन्द्रीय समिति स्वतः विघटन भएको उनको दाबी छ। ‘जुन समिति विघटन भइसक्यो, त्यो समितिले काटेको कारबाहीको पत्रको कुनै औचित्य छैन,’ थापाले भने।
सभापति थापाले आफूहरू निर्वाचन आयोगमा कुनै मुद्दा लड्न नभई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न मात्र आएको स्पष्ट पारे।
आगामी माघ ६ गते निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने भएकाले आयोगले पर्सी (माघ ३) सम्ममा अद्यावधिकको काम सक्नेमा आफू विश्वस्त रहेको उनले बताए।
उनले भने, ‘हामीले देउवाको हस्ताक्षर विस्थापित गरेर मेरो हस्ताक्षर चल्ने गरी विवरण बुझाएका छौं, अब टिकटमा सभापतिको हैसियतले मेरो हस्ताक्षर चल्छ।’
प्रकाशित: १ माघ २०८२ १५:३८ बिहीबार





