२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंमा हामीले भाषणमा होइन, व्यवहारमा समाजवाद लागू गर्यौं: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले आफूले काठमाडौं महानगरपालिकामा भाषणमा नभई व्यवहारमै समाजवाद लागू गरेर देखाएको दाबी गरेका छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्यमा गरिएको सुधार र विपन्नलाई दिइएको पहुँच नै असली समाजवाद भएको जिकिर गरे।

पुराना राजनीतिक दलहरूप्रति लक्षित गर्दै बालेनले भने, ‘यहाँ सबैले समाजवाद र लोकतन्त्रको कुरा गर्छन्, तर व्यवहारमा खै समाजवाद ? भाषणले मात्र समाजवाद आउँदैन।’

आफूले काठमाडौंको मेयर हुँदा गरेका कामहरूको उदाहरण दिँदै उनले भने, ‘काठमाडौंका महँगा स्कुल र कलेजहरूमा वार्षिक २० हजार विद्यार्थीले अहिले निःशुल्क (छात्रवृत्तिमा) पढिरहेका छन्। गरिबका छोराछोरीले ठूला कलेजमा फ्रि-टिकट पाएजस्तै निःशुल्क पढ्न पाउनु मेरो नजरमा समाजवाद हो।’

त्यस्तै, स्वास्थ्य क्षेत्रमा गरिएको सुधारलाई जोड्दै उनले काठमाडौंका महँगा अस्पतालहरूमा १० प्रतिशत शय्या गरिब तथा विपन्नका लागि छुट्याइएको बताए।

‘पैसा नभएका कारण उपचार नपाउने अवस्थाको अन्त्य गर्न महँगा अस्पतालमा गरिबले निःशुल्क उपचार पाउने व्यवस्था हामीले काठमाडौंमा लागू गरेका छौँ, त्यो हो समाजवाद,’ बालेनले भने।

काठमाडौंमा परीक्षण गरेर सफल भएको यो मोडल अब मधेस प्रदेशलगायत देशका सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा लागू गर्नुपर्नेमा उनले जोड दिए।

गरिब र निमुखाले राज्य भएको अनुभूति गर्नु नै वास्तविक समाजवाद भएको उनको भनाइ थियो।

प्रकाशित: ५ माघ २०८२ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App