२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

तपाईं इमानदार हुनुहुन्छ भने राजनीति गर्न सक्षम हुनुहुन्छ: तोसिमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफ्नो पेसा र कर्तव्यमा इमानदार व्यक्ति नै राजनीति गर्न सक्षम हुने बताएकी छन्।

मंगलबार काठमाडौंको बिग मुभिजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्।

कार्कीले डाक्टर, इन्जिनियर, शिक्षक वा कलाकार जो भए पनि आफ्नो काम र कर्तव्यलाई स्पष्ट बुझेर इमानदारिता प्रदर्शन गर्ने हो भने ऊ राजनीति गर्न योग्य हुने बताइन्।

डा. कार्कीले राजनीतिलाई पेसा बनाएकाहरूले इमानदारिता गुमाउँदा र देशलाई ठग्दा अन्य क्षेत्रका मानिसहरू बाध्य भएर राजनीतिमा होमिनुपरेको तर्क गरिन्।

उनले भनिन्, ‘जब राजनीति गर्नेहरूले सच्चा राजनीति गरिदिँदैनन्, तब पेसामा इमानदार भएका व्यक्तिहरूले राजनीतिमा आउनुपर्ने बाध्यात्मक अवस्था बनेको छ। यो रहर नभई देश जोगाउने बाध्यता हो।’

चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को प्रशंसा गर्दै डा. कार्कीले यसले जेन–जीको विदेश जाने मनोविज्ञान, नेपालमै गर्नुपर्ने संघर्ष र भ्रष्टाचारविरुद्धको लडाइँलाई चित्रण गरेको बताइन्।

‘यो फिल्मले सच्चा कर्मचारीलाई राज्यले कसरी संरक्षण गर्नुपर्छ र भ्रष्टाचार तथा बेथिति विरुद्ध परिवार भित्रैबाट कसरी विद्रोह गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ,’ उनले भनिन्, ‘झरीपछिको इन्द्रेणीले आजको नेपाल बोलेको छ।’

उनले नयाँ पुस्ता र तिनका अभिभावकहरूलाई यो चलचित्र हेर्न आग्रह गर्दै कलाकारहरूलाई पनि आफ्नो कलामार्फत समाज सुधारको प्रयाससँगै प्रत्यक्ष राजनीतिमा आउन चाहे स्वागत गर्ने बताइन्।

प्रकाशित: १५ पुस २०८२ १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App