नेपाली चलचित्रले कहिलेकाहीँ यस्तो विषय उठाउँछ, जुन विषय समाजले देखेर पनि नदेखेझैँ गर्छ। फिल्म ‘लालिमा’ त्यस्तै एक कथा बोकेर पर्दामा आएको चलचित्र हो। यो कुनै मनोरञ्जनको हल्का कथा होइन, बरु समाजको अँध्यारो कुनामा दबिएका पीडा, विवशता र मौन संघर्षको कथा हो। यौनकर्मीहरूको जीवन, उनीहरूको मनोदशा र सामाजिक यथार्थलाई चित्रित गर्न खोजिएको यो फिल्मले दर्शकलाई सहज मनोरञ्जनभन्दा बढी असहज प्रश्नहरू सोध्छ।
रोशन मिराजको निर्देशनमा बनेको ‘लालिमा’को केन्द्रमा साधारण तर असाधारण संघर्ष बोकेको पात्र छ–लालिमा। अभिनेत्री रोशनी कार्कीले निभाएको यो पात्र कुनै काल्पनिक नायिका मात्र होइन; हजारौँ महिलाको प्रतिनिधि जस्तै लाग्छ। निर्देशक मिराजका अनुसार फिल्मको कथा करिब तीन हजार यौनकर्मीहरूको जीवन अनुभवबाट प्रेरित छ। यही कारणले पनि फिल्ममा देखिने घटनाहरू नाटकीयभन्दा बढी यथार्थको स्वाद बोकेको महसुस हुन्छ।
फिल्मको कथावस्तु सरल देखिए पनि यसको भावनात्मक तह निकै गहिरो छ। बोल्न नसक्ने एक आमाको जीवनमा घट्ने एउटा घटनाले उनलाई कारागारसम्म पु¥याउँछ। त्यसपछि सुरु हुन्छ छोरी लालिमाको संघर्ष। आमालाई जेलबाट मुक्त गराउने प्रयासमा लालिमा सहरको कठोर यथार्थसँग जुध्न बाध्य हुन्छिन्। यो यात्रा केवल कानुनी संघर्ष मात्र होइन, सामाजिक अपमान, आर्थिक अभाव र मानसिक पीडासँगको लडाइँ पनि हो।
सहरको चकाचौंध भित्र लुकेको अँध्यारो संसारमा जब लालिमा धकेलिन्छिन्, तब दर्शकले एउटा महिलाको विवशता नजिकबाट देख्न पाउँछन्। आफ्नो र आमाको जीवन जोगाउन, पेट पाल्न र भविष्यको आशा बचाइराख्न उनले भोग्ने मानसिक तथा शारीरिक पीडाले फिल्मलाई भावनात्मक बनाउँछ। यस क्रममा यौन कर्ममा धकेलिने महिलाको पीडा, समाजले गर्ने विभेद र उनीहरूप्रतिको दृष्टिकोणलाई चलचित्रले देखाउन खोजेको छ।
फिल्ममा उषा रजकले निभाएको बोल्न नसक्ने आमाको भूमिका कथा संरचनाको संवेदनशील आधार हो। उनको मौनता केवल शारीरिक अपाङ्गता मात्र होइन, समाजले दबाएर राखेको आवाजको प्रतीक जस्तो लाग्छ। उनीसँगै जीवन भट्टराई, शिशिर वाङ्देल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेलजस्ता कलाकारहरूले कथा अगाडि बढाउन सहयोग गरेका छन्।
‘लालिमा’को विशेषता भनेको यसको दृश्यात्मक शैली हो। चलचित्रमा संवाद अत्यन्त कम छन्, कतिपय ठाउँमा दृश्य आफैं बोलेको छ। निर्देशकले शब्दभन्दा दृश्यलाई बलियो माध्यम बनाउने प्रयास गरेका छन्। पात्रको आँखा, मौनता, सहरका गल्लीहरू र अँध्यारा कोठाहरूले धेरै कुरा बोल्ने प्रयास गर्छन्। यस्तो शैली प्रायः आर्ट फिल्ममा प्रयोग गरिन्छ, जसले दर्शकलाई कथा बुझ्न सक्रिय बनाउँछ।
तर यही शैली कतिपय दर्शकका लागि कमजोरी पनि बन्न सक्छ। धेरै दृश्यमा बलियो संवाद खड्कन्छ। संवादको अभावले कथा कतिपय स्थानमा अस्पष्ट जस्तो लाग्छ। ती दृश्यमा प्रभावशाली संवाद थपिएको भए कथा र चरित्रले थप न्याय पाउथे। भावनात्मक दृश्यहरू राम्रो भए पनि शब्दको सहारा पाएर अझ गहिरो असर पार्न सक्थे।
फिल्मले उठाएको विषय अत्यन्त महŒवपूर्ण छ–सहाराविहीन महिलाहरू कसरी यौन कर्ममा धकेलिन्छन्। समाजले यौनकर्मीलाई प्रायः नैतिकताको तराजुमा तौलिन्छ, तर उनीहरू त्यहाँ किन पुगे भन्ने प्रश्न कमै सोधिन्छ। ‘लालिमा’ले यही प्रश्न उठाउने प्रयास गरेको देखिन्छ। आर्थिक अभाव, बासको समस्या, बच्चाको पालनपोषण, शिक्षा, नागरिकताको समस्या–यी सबै कारणहरूले महिलालाई कसरी कठिन परिस्थितिमा पु¥याउँछ भन्ने कुरा चलचित्रले देखाउँछ।
विशेष गरी अपाङ्गता भएका महिलाको अवस्था अझ जटिल हुने कुरा फिल्मले संकेत गर्छ। बोल्न नसक्ने एक आमाले बच्चा हुर्काउन भोग्ने कठिनाइ केवल व्यक्तिगत संघर्ष होइन, समाजको संरचनागत कमजोरीको परिणाम पनि हो। यहाँ फिल्मले संवेदनशील विषयलाई छुन खोजेको छ।
तर फिल्मको अर्को पक्ष पनि छ। महिलामाथि हुने हिंसा, विभेद र पीडालाई देखाउने क्रममा चलचित्र कतै–कतै अत्यधिक पीडामुखी जस्तो देखिन्छ। महिलालाई सशक्त रूपमा उभ्याउने सम्भावना हुँदा पनि कथा पुरानो शैलीको पीडित चरित्रमै सीमित भएको महसुस हुन्छ। आजको समयमा महिला अधिकारका कानुनहरू र न्यायका सम्भावनाहरूलाई कथा भित्र समेटिएको भए फिल्म अझ सन्देशमूलक बन्न सक्थ्यो।
यसैले ‘लालिमा’ कलात्मक चलचित्र हो कि व्यावसायिक–यो प्रश्न केही हदसम्म खुला रहन्छ। कथाको प्रस्तुति, संवादको कमी र दृश्य प्रधान शैलीले यसलाई आर्ट फिल्मको नजिक ल्याउँछ। तर कथा भने समाजको व्यापक दर्शकलाई सम्बोधन गर्न सक्ने खालको छ। यही दोधारले फिल्मलाई कहिलेकाहीँ अस्पष्ट बनाएको जस्तो लाग्छ।
अर्को रोचक पक्ष भनेको यसको रिलिज शैली हो। कुनै ठुलो प्रचारप्रसार, पत्रकार सम्मेलन वा सामाजिक सञ्जाल अभियानबिना फिल्म गुपचुप रूपमा हलमा आएको छ। प्रचारको अभावले गर्दा धेरै दर्शक यसबारे अनभिज्ञ नै छन्। यथार्थपरक विषय बोकेको यस्तो फिल्मलाई दर्शकसम्म पु¥याउन प्रचारको भूमिका महŒवपूर्ण हुने भएकाले यो पक्ष यसको कमजोरी बन्न सक्छ।
यद्यपि, ‘लालिमा’ले उठाएको प्रश्न भने महŒवपूर्ण छ–समाजले किन र कसरी महिलालाई यस्तो परिस्थितिमा धकेल्छ? यौनकर्मीलाई केवल नैतिकताको चस्माबाट हेर्नु पर्याप्त छ कि उनीहरूको जीवन कथालाई बुझ्नु आवश्यक छ? फिल्मले यी प्रश्नहरूको स्पष्ट उत्तर नदिए पनि दर्शकलाई सोच्न बाध्य बनाउँछ।
अन्ततः ‘लालिमा’ एउटा सरल कथा भए पनि भावनात्मक र सामाजिक अर्थले गहिरो चलचित्र हो। चलचित्रलाई दर्शकले कति रुचाउलान्? व्यवसायिक रुपमा कति सफल होला? तर समाजको संवेदनशील घाउलाई छुन खोजेको प्रयास हो। आमा र सन्तानको सम्बन्ध, गरिबीको कठोर यथार्थ र समाजको कठोर दृष्टिलाई एकसाथ जोडेर फिल्मले एउटा प्रश्न छोड्छ–आखिर आमाले सन्तानका लागि गर्ने संघर्षको सीमा कहाँसम्म हुन्छ?
कथा यही भन्छ–आमाको प्रत्येक कर्म सन्तानका लागि पवित्र हुन्छ, चाहे त्यो संसारको नजरमा कति नै विवादास्पद किन नहोस्। ‘लालिमा’ यही पवित्र संघर्षको पीडामय चित्र हो।
प्रकाशित: २९ फाल्गुन २०८२ १९:५९ शुक्रबार





