नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सदस्य सूर्य थापाले पार्टीले दिएको जुनसुकै जिम्मेवारी र मर्यादाक्रमलाई स्वीकार गर्ने बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पदभन्दा पार्टीको निर्णय सर्वोपरि हुने प्रतिक्रिया दिएका हुन्।
विगतमा पोलिटब्युरो सदस्य रहेका थापा यसपटक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अबको भूमिकाबारे सोधिएको प्रश्नमा उनले पार्टीको निर्देशन नै अन्तिम हुने बताए।
‘पार्टीले धुलोमा बस् भने धुलोमा बस्ने हो, दुबोमा बस् भने दुबोमा बस्ने हो, कुर्सीमा बस् भने कुर्सीमा बस्ने हो र सोफामा बस् भने सोफामा बस्ने हो,’ थापाले भने, ‘म हिजो पोलिटब्युरो सदस्य रहिसकेको मान्छे हो। अब पार्टीले के जिम्मेवारी दिन्छ, त्यो नेतृत्वको योजनामा भर पर्छ।’
महाधिवेशनको मतपरिणामबारे टिप्पणी गर्दै थापाले नतिजा मिश्रित आएको बताए। एउटा प्यानल पूरै जित्ने वा हार्ने अवस्था नरहेको र केही मिश्रित उम्मेदवारहरू पनि निर्वाचित भएको उनको भनाइ थियो।
आफ्नो पूर्वानुमान मिलेको दाबी गर्दै उनले भने, ‘मैले परिणाम आउनुअघि नै केपी शर्मा ओलीले ७५ प्रतिशत र ईश्वर पोखरेलले २५ प्रतिशतभन्दा कम मत ल्याउनुहुन्छ भनेको थिएँ, परिणाम जस्ताको तस्तै आएको छ।’
पराजित नेताहरूको व्यवस्थापनबारे सोधिएको प्रश्नमा थापाले अध्यक्ष ओली नेतृत्वको नयाँ टिमले उचित कार्यविभाजन गर्ने विश्वास व्यक्त गरे। उनले महाधिवेशनको जनादेशलाई पार्टीले सही ढंगले कार्यान्वयन गर्ने र सबैलाई काममा लगाउने योजना बन्ने बताए।
‘पराजितले पार्टीबाट बाहिर जानुपर्ने र विजयीले यसलाई ठूलो विषय ठान्नुपर्ने अवस्था म देख्दिनँ,’ थापाले भने, ‘नेतृत्वले विवेकपूर्ण ढंगले हामीलाई कामको जिम्मेवारी दिन्छ भन्ने कुरामा म विश्वस्त छु।’
प्रकाशित: ३ पुस २०८२ २१:०२ बिहीबार





