राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले विगतमा केही गल्ती नगरेको भए आफू पनि कांग्रेस नै हुने अवस्था रहन सक्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले टिकट वितरण, नेतृत्व हस्तान्तरण र दलीय निष्ठाका विषयमा कांग्रेसमाथि कटाक्ष गरेका हुन्।
महाधिवेशनको मञ्चबाट सम्बोधन गर्दै सभापति लामिछानेले समानुपातिक प्रणालीको दुरुपयोग, युवालाई नेतृत्व हस्तान्तरणमा ढिलाइ र चुनाव चिह्न रुख छाडेर अन्य दललाई भोट हाल्ने उर्दी जारी गर्नु कांग्रेसको ठूलो कमजोरी भएको औंल्याए। यी कमजोरी नभएको भए आफ्नो राजनीतिक गन्तव्य कांग्रेस नै हुनसक्ने उनले बताए।
‘समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए मै पनि कांग्रेस हुन्थें होला,’ उनले भने, ‘आज ५० वर्षको सभापति पाउँदा गौरव महसुस गरिरहनुभएको छ, ४० वर्षमै सभापति बन्ने प्रेरणा दिएको भए मै पनि कांग्रेस हुन्थें होला।’
विगतका चुनावी गठबन्धनतर्फ संकेत गर्दै उनले थपे, ‘कांग्रेसले आफ्नो लहलहाउँदो रुखलाई छाडेर अर्कै पार्टीको चुनाव चिह्नमा भोट हाल भनेर उर्दी जारी नगरेको भए मै पनि कांग्रेस हुन्थें होला।’
सरकारको स्थायित्वबारे टिप्पणी गर्दै सभापति लामिछानेले सरकार ढल्ने हल्ला फैलाउनेहरू आफैँ निराश हुने दाबी गरे। ‘सरकार कमजोर भयो, अहिले ढल्छ, दसैँ-तिहारमा ढल्छ भन्नेहरू सरकार नढलेको देखेर आफैं बेहोस भएर ढल्छन्, तर सरकार ढल्दैन,’ उनले भने, ‘हामीले व्यक्तिलाई हेरेर होइन, इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौं।’
सडक आन्दोलनबाट सरकार ढाल्ने बाटो छाडेर आवधिक निर्वाचनको माध्यम रोज्न उनले आग्रह गरे। लोकतन्त्र रक्षाको ठेक्का कुनै एउटा दलले मात्र लिन नसक्ने भन्दै उनले संकट परे जनता आफैंले लोकतन्त्र जोगाउने बताए।
बीपी कोइरालाका अनुयायीहरूलाई एकपटक आफ्नो दललाई प्रतिपक्षमा राखेर नयाँ शक्तिलाई अवसर दिन आग्रह गर्दै लामिछानेले भने, ‘हामीले पाँच वर्षमा काम गर्न सकेनौं भने अर्को चुनावमा डाँडा कटाइदिनुस्, सबैभन्दा पहिला रास्वपाकै सदस्यता च्यातिदिनुस्।’
प्रकाशित: १८ आश्विन २०८३ १७:४९ आइतबार





