१९ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकारका दुई प्रस्ताव अस्वीकृत भएपछि संसद् भंग, नयाँ चुनाव घोषणा

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसद् भंग गर्दै नोभेम्बर २९ मा समयपूर्व आम चुनाव गर्ने घोषणा गरेका छन्।

आवास संकटसम्बन्धी सरकारका दुई प्रस्ताव संसदबाट अस्वीकृत भएपछि उनले यस्तो निर्णय गरेका हुन्। आवास संकट समाधान गर्ने उद्देश्यले ल्याइएका प्रस्तावमा निष्कासन रोक्ने र घरजग्गाको सट्टाबाजी नियन्त्रण गर्ने उपाय समावेश थिए। तर दक्षिणपन्थी पिपुल्स पार्टी, भोक्स र क्याटालान दल जुन्ट्सले विपक्षमा मतदान गरेपछि प्रस्ताव असफल भएका थिए।

आवासको बढ्दो मूल्य र भाडाविरुद्ध पछिल्ला हप्तामा स्पेनका विभिन्न सहरमा प्रदर्शन हुँदै आएका छन्। म्याड्रिडमा ८७ वर्षीया वृद्धालाई घरबाट निकालिएको घटनापछि आवास संकटलाई लिएर सार्वजनिक दबाब थप बढेको थियो।

टेलिभिजन सम्बोधनमा सान्चेजले अब स्पेनी जनताले आफ्नो देशको भविष्यबारे निर्णय गर्ने समय आएको बताए। ‘स्पेनी जनताले आफ्नो र आफ्नो देशको भविष्य कस्तो होस् भन्ने निर्णय गर्ने समय आएको छ,’ उनले भने।

सान्चेज सन् २०१८ देखि स्पेनको प्रधानमन्त्री छन्। उनी नेतृत्वको अल्पमत सरकार विभिन्न साना दलको समर्थनमा निर्भर रहँदै आएको छ। ती दलहरूको समर्थनबिना सरकारलाई संसदबाट आफ्ना प्रस्ताव पारित गराउन कठिन हुँदै आएको छ।

पछिल्लो संसदीय पराजयपछि सरकारमाथि राजनीतिक दबाब थप बढेको थियो। त्यसपछि सान्चेजले अर्को वर्ष हुने भनिएको आम चुनाव अघि सार्दै नोभेम्बर २९ मै निर्वाचन गर्ने निर्णय गरेका हुन्।

प्रकाशित: १९ आश्विन २०८३ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App